Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–७ शिवगढिया चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लोखडियातर्फ जाँदै गरेको युपि ५० सिएस १७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत अजमगढ बस्ने ४० वर्षीय फिरोज अहम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका–१४ क्षेत्रवासस्थित सडकमा बोलेरोबाट खसेर एक जनाको मृत्यु भएको छ । गोछाडाबाट थारूडण्डातर्फ जाँदै गरेको ग.२ च ८४९३ नम्बरको बोलेरोबाट खसेर बोलेरोमा सवार सोही नगरपालिका–१४ थारूडण्डा बस्ने रौतहट घर भएका २० वर्षीय सबिन्द्र पासवानको सोमबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उता दाङको घोराही उपमहानगरपालिका–४ सिस्ने खोला पुलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रामपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.७ प ३२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही उपमहानगरपालिका–१७ भैँसाही डेरा गरी बस्ने गढवा गाउँपालिका–८ घर भएका १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । तीन वटै दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले  जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update