
पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषा र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित सडकमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँर्दा क जनाको मृत्यु भएको छ । बिआर ३२ एवाइ १४६३ नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०२–००६ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मधेश प्रदेश ०२–००६ प ९७४४ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–१ मुग्राहाका २३ वर्षीय बिबेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बिआर ३२ एवाइ १४६३ नम्बरको मोटरसाइकल चालकको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
यस्तै बर्दियाको मधुबन नगरपालिका–८ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ । भे.१३ प ९३६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरिया नगरपालिका–७ बागेस्वरी टोल बस्ने ५७ वर्षीय कृष्ण प्रसाद बस्यालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएको उनको नर्सिङहोम नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा अर्को एक जनाको मृत्यु भएको छ । चालक सैइलहवाबाट राधाकृष्ण चोकतर्फ आउँदै गरेको युपि ४० बिबि १६२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भारत बहराईच ग्राम मेहेपुरूवा बस्ने ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । तीनै वटा घटनाको विषयमा थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।