
भानुजयन्ती आज देशभर हर्षउल्लासका साथ मनाइँदै छ । नेपाली साहित्यको आदिकविका रुपमा भानुभक्त आचार्यलाई लिने गरिन्छ । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ । यो दिन नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झना गरिन्छ । १८७१ असार २९ गते (आजैका दिन) भानुभक्तको जन्म भएको थियो ।
रामायणको सरल नेपाली अनुवादलाई भानुभक्तको मुख्य योगदान मानिन्छ । रामायणले नेपालीहरूलाई भाषामार्फत जोडेको भन्दै उनलाई त्यसैको आधारमा राष्ट्रवादको हिरो बनाइएकोमा कतिपय आलोचकहरूले कडा टिप्पणी गरेका छन् । भानुभक्तका अन्य रचनाहरू केलाउँदा पनि उनको चिन्तन तत्कालीन समाजभन्दा निकै पछाडी रहेको औंल्याउनेहरू पनि छन् । भानुभक्तलाई दिइएको आदिकविको उपाधि कति उचित भन्नेबारे विवाद कायम छ । भानुभक्तको योगदान, आदिकवि उपाधि, उनका रचनामा भएको प्रगतिशीलताबारे बेलाबेला कोठे गोष्ठी हुँदै आए पनि पर्याप्त मात्रामा खुला बहस भने हुन सकेको छैन । अहिलेको सन्दर्भमा बहस हुनु आवश्यक छ । हरेक वर्ष जन्मजयन्तीमा भानुभक्तको शालिकमा माल्यार्पण गर्दैमा भानु जयन्तीको महत्व बढ्न सक्दैन । उनीप्रति सच्चा सम्मान गर्नका लागि त आजका पुस्तालाई भाषा र साहित्यको महत्व दर्शाएर प्रारम्भिक समयमा यी दुवै क्षेत्रमा भानुभक्तले पुर्याएको योगदानको महत्व बुझाउन सक्नुपर्छ । नयाँ पुस्ताले पनि पुराना सर्जकको महत्वलाई बुझेर कदर र सम्मान गर्ने संस्कृतिको विकास गर्न सक्नु नै भानुभक्तप्रतिको वास्तविक सम्मान हुन्छ ।
हरेक भानु जयन्तीका दिन सरकारले लेखक/साहित्यकारहरुप्रति विशेष ध्यान दिइने भने पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । देशविदेशमा अत्यधिक शक्तिशाली स्रष्टाका रुपमा लिइने आदिकविको सम्मानका लागि सरकारले औपचारिकताबाहेक खासै केही पनि गर्न नसक्नु देशका लागि दुर्भाग्य पूर्णसमेत छ । भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको अनुसरण गर्न सके मात्र उनको सच्चा सम्मान हुन्छ । त्यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।