
रामचन्द्र रायमाझी
पाल्पा,पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि भएको छ । आईतबार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा पाल्पाका १७ जना र गुल्मीका ८ जनामा संक्रमण देखिएको हो । पाल्पामा रम्भा गाउँपालिका १ का १६ जना र बगनासकाली गाउँपालिकाका ५ का एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पिसिआर परीक्षणमा १६ जना पुरुष र एक जना बालिकामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये १३ वर्षीया एक बालिका रहेकी छन् । अन्य संक्रमितहरु क्रमश ४८, २९, ४६,१९,२०,२२, २५, ४१, १६, ३६, २८, २०, २२, २२, २८ र ३२ वर्ष उमेरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रम्भा गाउँपालिका १ ताहुँमा रहेको जनकल्याण माविको क्वारेन्टाइनमा बसेका १६ जना १८ दिन अघी भारतबाट आएका थिए । उनीहरुलाई सोमबार विहान ताँहुमा निर्माण गरिएको आइसुलेसन सेन्टरमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । त्यस्तै बगनासकाली गाउँपालिकाका एक संक्रमितलाई तानसेन नर्सिङ्ग स्कुलमा निर्माण गरिएको आईसोलेसन सेन्टरमा पठाइसकिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । यो सँगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ ।
यस अघी २३ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिका २ जना व्यक्ति कोरोनाबाट सक्रंमित भएका छन् । तानसेन नगरपालिका,बगनासकाली गाउँपालिका,माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाले निर्माण गरेको संयुक्त आईसोलेसमा १३ जना, मिसन अस्पतालको आइसोलेसनमा ५ जना, लुम्विनी मेडिकल कलेजको आइसोलेसनमा २ जना र रामपुरमा २ जना उपचाररत रहेका छन् । संक्रमितहरुको अवस्था भने समान्य रहेको अस्पतालहरुले जनाएका छन् । जिल्लामा पछिल्लो समयमा २ हजार २ सय भन्दा बढी नागरिक भारतबाट जिल्ला भित्रिएका छन् । हालसम्म ३ सय ५० भन्दा बढीको पिसिआरका लागि स्वाब संकलन भएको छ भने स्थानीय तहले आरडिटी परीक्षण गरिरहेका छन् । क्वारेन्टाइमा बसेका १४ दिन अवधी पुगेका व्यक्तिहरुले आफुहरुको पिसिआर परीक्षण गर्नुपर्ने वा घर पठाउन सम्वन्धित गाउँपालिकालाई आग्रह गरेका छन् ।
त्यस्तै आईतबार गुल्मीमा पनि ८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका थिए । मन्त्रालयले ८ जना संक्रमित भने पनि जिल्ला जनस्वाथ्य कार्यलयलाई भने ४ जनाको मात्र जानकारी प्राप्त भएको कार्यलयका प्रमुख भवानी प्रसाद शर्माले जानकारी दिए । जिल्लामा शनिबार मात्र ६ जनामा संक्रमण देखिएको थियो । योसँगै जिल्लामा संक्रमितको संख्या १८ पुगेको छ ।