
आज गुरु पूर्णिमा हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्दछ । संस्कृत शब्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हुन् ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुवा सरह मान्ने प्रचलन छ । गुरुलाई जताबाट अर्थ लगाए पनि उच्च स्थानमा राखिएको छ । जुनसुकै खालको विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक अध्यापक, संगीतकला आदि सिकाउने व्यक्ति, गायत्री मन्त्र वा वेदमन्त्र र दीक्षा मन्त्रको रुपमा दिने व्यक्ति, बुद्धि बल, उमेर विद्या आदिमा श्रेष्ठ तथा आदणीय, मान्यजन वा पुज्य व्यक्ति सबैलाई गुरु भनेर सम्बोधन गरिएको छ ।
हामीले प्राप्त गरेको शिक्षा होस् चाहे हाम्रो सभ्यता र संस्कृतिको विकासको क्रमका कुराहरु होउन गुरुको योगदान र महत्वलाई बिर्सन मिल्दैन । यो संसारमा जति पनि योग्य र गुणवान व्यक्तिहरुको नाम हामी सुन्दछौं ती सबै गुरुको बचन शिक्षा तथा मेहनतले उच्च स्थानमा पुग्न सफल भएका हुन् । विना गुरु यो दुनियाँमा कोही पनि उच्चपदस्थ व्यक्ति बन्न सकेको पाइँदैन । अज्ञानरुपी अन्धकारबाट ज्ञानतर्फ डोर्याउने गुरु र गुरुत्वको सम्मान र स्मरण गर्नु आफैमा राम्रो परम्परा हो । गुरूको पूजा भनेकै ज्ञान र सिपको पूजा हो । मानिसलाई ठीक– बेठीक, सत्य– असत्य, न्याय– अन्याय, प्राकृतिक र कृत्रिमको भेद सिकाउने चेतना नै गुरूत्व हो । त्यही चेतनाले हामीलाई प्रत्येक पाइलामा दिशानिर्देश गरिरहेको हुन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ । तसर्थ हरेक पाठलाई आत्मसाथ गर्न सके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ । तसर्थ गुरुलाई गुरु पूर्णिमाका दिन मात्र होइन सधै सम्मान र स्मरण गर्ने गरौं ।