Shittalpati
पहिरोले अवरुद्ध  पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै 

पाल्पा, पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक अहिले पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रविण आचार्यले जानकारी दिए ।  राजमार्गको अन्य स्थानमासमेत पहिरो खसेर विहानैदेखि सडक अवरुद्ध बनेको थियो । अहिले ति स्थानमा पनि पहिरो पञ्छाइएको छ । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

रातभरि परेको अविरल वर्षाका कारण बुधबार बिहानैदेखि बर्तुङ्गदेखि सिद्धबाबा क्षेत्रको सडक अवरुद्ध भएको थियो । ट्राफिक प्रमुख आचार्यका अनुसार तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै क्षेत्र, जोडधारा र बर्तुङ्ग नजिकैका ठाउँहरुमा ठूला साना पहिरो खसेका थिए । बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने क्रम नरोकिएकाले केही कठिनाई भएको थियो । “पहिरोका कारण सयौं गाडी रोकिएका थिए, अहिले पहिरो पञ्छाएर पूर्ण रुपमा गाडी पठाएका छौं तर फेरी पनि पहिरो खस्न सक्ने सम्भावना भने कायमै छ” ट्राफिक प्रमुख आचार्यले भने ।
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update