
तानसेन (पाल्पा), सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन् ।
उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । बुटवलबाट पाल्पा आउँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल आज दिउँसो पहिरोमा परी उनी सहित श्रीमति कल्पना चापागाई घाइते भएका थिए । श्रीमति चापागाई भने सामान्य घाइते भएकी छन् । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
एक्कासी माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ । सिद्वार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमाका विभिन्न ठाउँमा ढुंगा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ्ग र सिद्वाबाबा क्षेत्रबाट सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।