
तानसेन (पाल्पा), सिद्धबाबा सडक खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी र उनको श्रीमति कल्पना चापागाई पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार दुवैलाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाईकल पहिरोमा परेको हो ।
एक्कासी माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ । सिद्वार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमाका विभिन्न ठाउँमा ढुंगा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ्ग र सिद्वाबाबा क्षेत्रबाट सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।