
पाल्पा, भैरवनाथ मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दबहादुर पोखरेलको पक्षमा उच्च अदालत तुलसीपुर बुटवलबाट रिट जारी भएको छ । रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको देखाएर परेको निवेदनमा उच्चबाट रिट जारी भएको हो ।
निवेदनमा उच्चका न्यायाधीशद्वय जगतबहादुर थापा र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले सोमबार रिट जारी गरेको अधिवक्ता बाबुराम पाण्डेले बताए । उच्च अदालतले निवेदककै पक्षमा रिट जारी गरेकाले अब नयाँ समिति गठन प्रक्रियाको बाटो खुलेको छ । निवेदक पोखरेलले वडा अध्यक्ष सोमबहादुर कार्की, मालपोत कार्यालय पाल्पा, गुठी संस्थान प्रधान कार्यालय, दिलिप रायमाझी र गठीत मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाएर उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सोमबार रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन । यद्यपि निवेदककै पक्षमा रिट जारी भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर नयाँ समिति गठन गर्ने बाटो भने खुलेको छ ।
उच्चले जेठ ७ गते २०८१/०७/२७ मा दिलिप रायमाझी अध्यक्ष भई गठन गरिएको समिति कानुन अनुसार नभएकाले सो समितिको काम कारवाहीमा रोक लगाउनुु पर्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो । निवेदकको तर्फबाट अधिवक्ताहरु बाबुराम पाण्डे, हिमलाल न्यौपाने,तुलसीराम ढकाल र नारायण प्रसाद ज्ञवालीले बहस गरेका थिए ।
निवेदक पोखरेल नेतृत्वमा रहेको समितिको २०८१ साउन २ गते पदावधि सकिएको पछि वडा कार्यालयले गुठी संस्थानको स्वीकृती विना २०८१ कार्तिक २७ गते वडाध्यक्ष सोमकुमार कार्कीको अध्यक्षतामा भेला गरी नयाँ समिति गठन गरेको थियो । स्थानीय सरकारले आफू अनुकूल समिति गठन गरेपछि विवाद बाहिर आएको थियो । उच्चको रिट जारीपछि नव गठित समिति स्वतः निष्क्रिय भएको छ ।