Shittalpati
तुलसीको महत्व र उपयोगिता

तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी पूजा आराधना गर्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

तुलसी धार्मिक, सांस्कृतिकसँगै मानवी स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । त्यसैले यसलाई बहुउपयोगी वनस्पतिका रुपमा लिने गरिन्छ । तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा तुलसी रोप्नुपर्छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा पनि छ । यसले हामीलाई तुलसीको सम्पर्कमा पु¥याउँछ र स्वास्थ्य लाभ मिल्छ । सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपयोगी मानिन्छ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै घरको वातावरण राम्रो बनाउँछ । यसर्थ तुलसीको उपयोगिता र महत्व मानव जीवनमा अपरिहार्य बनेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update