
यति बेला एसइईको नतिजालाई लिएर धेरै ठाउँहरुमा वहस र चर्चा भइरहेका छन् । कतिपयले अहिलेको नतिजालाई सुधारको रुपमा लिएका छन् भने कतिपयले एकाएक नतिजामा उल्लेखीय सुधार हुनु शंकास्पद रहेको टिप्पणी गर्ने गरेका छन् । विगतका वर्षमा भन्दा यस वर्षको नतिजामा सुधार आएको चाहि पक्कै हो ।
गत वर्ष ४७ दशमलव ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । विगतभन्दा यो प्रतिशत १३ दशमलव ९४ प्रतिशतले बढी हो । विगतको तुलनामा यस वर्ष ‘४ जीपीए’ ल्याउने विद्यार्थी संख्या पनि बढ्यो । यस अवस्थाले शैक्षिक उपलब्धिमा सुधार आएको संकेत गर्छ । तर, एकै वर्षबीच यतिको संख्यामा उत्तीर्ण हुने दर बढाउनका लागि शैक्षिक प्रणालीमा केके सुधार गरियो त ? यसको जवाफ भने कसैसँग पनि छैन । अहिलेको नतिजालाई हेरेर मात्र समग्र शिक्षाको अवस्था सुधार भएको भन्न भने सकिदैन । सिकाइमा सुधार गरिएको हो कि परीक्षा प्रणाली कमजोर पारियो ? भन्ने प्रश्न आम रुपमा उठेको छ । कारण जेसुकै होस्, एसईईमा आएको यो सुधार आशालाग्दो छ ।
यसलाई सकारात्मक रूपमा हेरिनुपर्छ । तर, सुधार परीक्षाफलभन्दा पनि शिक्षण सिकाइ क्रियाकलापलक्षित हुनुपर्छ । परीक्षा परिणामभन्दा विद्यार्थीको सिकाइमा ध्यान दिनुपर्छ । यो समयको माग र आवश्यकता दुवै हुन् । अहिले पनि पुरानै शैलिमा शिक्षण सिकाई हुँदै आएको छ । यसले अबको प्रतिस्पर्धाको युगमा कुनै अर्थ राख्दैन । जबसम्म शिक्षण सिकाईलाई प्रविधिमैत्री,व्यवहारिक र जीवनउपयोगी बनाइँदैन तबसम्म जतिसुकै नतिजामा सुधार आए पनि त्यसको सार्थकता छैन् । अब घोकेर होइन, सिकेर पढाइ हुनुपर्छ । यसो गर्नका लागि शिक्षक सिकाइमा सुधार गर्नुपर्छ । तसर्थ अब नतिजा भन्दा पनि शिक्षण सिकाइ क्रियाकलाप सुधारतर्फ सबैले ध्यान दिन आवश्यक छ ।