Shittalpati
सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ

पाल्पा, कर्तव्य ज्यान मुद्धाका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पूर्वखोला गाउँपालिका – ९ हाल वडा नं– १ गुनडाँडामा बस्दै आएका ६६ का पूर्णबहादुर सार्कीलाई सासु आमाको हत्या आरोपमा पक्राउ गरेको हो ।

१९ असार २०६१ मा सार्कीले आफ्नो सासु आमा पर्ने सोही ठाउँकी ५५ वर्षीया चिनिसरा सार्कीको हत्या गरेको घटनामा अदालतले दोषी ठहर गरेको थियो । सार्कीको हत्या गरि फरार रहेका उनी भारतमा लुकिछिपी बस्दै आएका थिए । उनलाई पक्राउ गरी मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महल १ नं. बमोजिम ज्यान सम्बन्धी कसुरमा  जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ दफा १४ (१) बमोजिम दिन ०५ म्याद लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

सार्की नेपाल फर्कने भन्ने सूचना पश्चात प्रहरी टोली परिचालित गरी विहीबार विहान बाँकेको नेपालगञ्ज उप–महानगरपालिका – १५ स्थित भन्सार अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी पवन कुमार भट्टराईले बताए । उनका अनुसार पूर्णबहादुरले सासु चिनिसराको कुटपिट गरी घाँटी थिचेर हत्या गरेका हुन् । हत्या गरी फररार रहेका उनलाई प्रहरीेले लामो समयदेखि नै खोजी गर्दै आएको थियो ।  

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update