Shittalpati
अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत

रमेश विश्वकर्मा
गुल्मी, अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत वितरण गरिएको छ । सक्षम परियोजना गुल्मीले अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत वितरण गरेको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्नको लागि सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेसँगै विहान बेलुका छाक टार्न गाह्रो भएका बालबालिकालाई राहत वितरण गरिएको परियोजनाले जनाएको छ ।

सिबिएम नेपाल र अपाङ्गता बाल अस्पताल तथा पुर्नस्थापन केन्द्र बनेपा काभ्रेको साझेदारीमा सञ्चालित परियोजनाले जिल्लाका विभिन्न स्थानीय तहमा राहत वितरण गरिएको परियोजना कार्यान्वयन इकाई प्रमुख शालिकराम तिम्लिसिनाले जानकारी दिए । उनका अनुसार जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी शारीरिक अपाङ्गता भएका १५ जना विपन्न बालबालिकाको घरमै पुगेर राहत वितरण गरेको हो । खाद्यान्न र स्वास्थ्य सामग्री राहत स्वरुप वितरण गरिएको इकाई प्रमुख तिमिल्सिनाले बताए । नेपाल सरकारको राहत वितरण मापदण्ड अनुरुप परियोजनाले चामल ३० किलो, दाल ३ किलो, चिनी २ किलो, नुन २ किलो , साबुन नुहाउने र लुगा धुने २÷२ वटा , स्यानिटाईजर र मास्क वितरण गरेको छ ।
परियोजनाले बन्दाबन्दी (लकडाउन) को समयमा पूर्वनिर्धारित कार्यक्रम गर्न नसकिएको रकमले उक्त राहत वितरण गरेको जनाएको छ । १५ जना अपाङ्गता भएका बालबालिकाको परिवारमा रहेका करिब ९० जना व्यक्तिलाई सहयोग पुगेको बताइएको छ ।
वर्तमान विषम परिस्थितीमा कतिपय अपांगता भएका बालबालिकाको उपचार रोकिएको, प्रयोग गरिरहेको सहायक सामग्री तथा उपकरण विग्रीएको, सानो भएको साथै पुनः नाप जाँच गर्न नमिलेर अपाङ्गताको अवस्था नाजुक बन्दै गएको प्रमुख तिमिल्सिनाले जानकारी दिए । उनले यस्तो खालको समस्या आएमा तुरुन्तै कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । हालसम्म परियोजनाले जिल्लामा ५ सय ७३ जना शारीरिक अपांगता भएका बालबालिका पहिचान गरी उपचार र पुनर्स्थापना योजना तयार गरेको छ । परियोजनाले समुदायमा सचेतिकरण तथा सरोकारवालाहरुसँग उनीहरुका हक अधिकारका विषयमा कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update