
पाल्पा, पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
मानिसहरु योगतर्फ आकर्षित हुँदै गएपछि तानसेनमा पनि पाँच दिने स्वास्थ्य योग शिविर सञ्चालन गरिएयो । पाँच दिनसम्म सञ्चालन गरिएको शिविरले सकिएको छ । तानसेन नगरपालिका– २ को आयोजना र पतञ्जली योग समिति पाल्पाको व्यबस्थापन एवं प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा तानसेन नगरपालिका वडा नं. २, वडा नं. ३, वडा नंं, ४ र वडा नंं ६ का ५० जना भन्दा बढी नगरवासीहरु सहभागी भएका थिए । योग अभ्यासमा पुरुष भन्दा महिलाहरुको सहभागी बढी थियो ।
शिविरमा योग प्रशिक्षकहरु पतञ्जलि योग समिति पाल्पाका अध्यक्ष शुरेस श्रेष्ठ, महिला अध्यक्ष उषा श्रेष्ठ, उपाध्यक्ष बैजनाथ यादव, तरुण थापा र पद्यमा भट्टराई श्रेष्ठले लगायतले योगासन, प्राणायाम, ध्यान, सूर्य नमस्कार, आसन र योगनिद्रा लगायतका विभिन्न किसिमका योग अभ्यास गराएका थिए । शिविर प्रत्येक बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुँदै आएको थियो । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले नियमित योग अभ्यासले उच्च रक्तचाप, मधुमेह, तनाव, मोटोपन, अनिद्रा लगायतका रोगहरूको निवारण गर्न सहयोग पुग्ने बताए । योग केवल शारीरिक व्यायाम होइन, यो जीवन पद्धतिको एक अनुसाशित अभ्यास भएकाले सबै नगरवासीहरु नियमित योग अभ्यासमा सहभागी हुन वडा अध्यक्ष श्रेष्ठले जोड दिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भरत आचार्यले योग अभ्यासबाट नगरवासीको जीवनस्तर सुधारमा सहयोग पुगेको बताए । कार्यक्रममा तानसेन नगरपालिका कार्यपालिका सदस्य सविता भट्टराईले निरन्तरको योग अभ्यासबाट मानिसमा भएको रोग निको हुने शरिर, मन र मस्तिष्कलाई स्वस्थ्य बनाउने बताईन । कार्यक्रममा नारायण युवा क्लवका अध्यक्ष प्रविनराज शाक्यले योग अभ्यास कार्यक्रमलाई नगरभित्र नियमित रुपमा सञ्चालन गर्न सकेमा धेरै मानिसहरुको स्वास्थ्यमा सुधार हुने बताए । पतञ्जली योग समिति पाल्पाले नियमित रुपमा शाही मन्दिर विशाल बजारमा विहान ५ बजे देखी ७ बजे सम्म निशुल्क रुपमा योगअभ्यास गराउदै आएको छ । शिविरमा छुटेका व्यक्तिहरुलाई विशालबजारको नियमित कार्यक्रममा सहभागी हुन समेत समितिले नगरवासीहरुमा अनुरोध गरेको छ ।