
अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आइएको छ ।
मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । केही वर्षयता नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । योगको विकास र विस्तारसँगै नेपालमा पनि योग दिवस मनाउन थालिएको हो । योग अहिले आएर चिकित्सा विज्ञानको महत्वपूर्ण हाँगा बन्न पुगेको छ । अहिलेको अस्तव्यस्तताको दुनियाँमा योग नगर्ने व्यक्तिको जीवनआयु समेत छोटिने सुनिश्चित छ । अर्को कुरा बदलिंदो वातावरणमा समायोजन हुनका लागि समेत योगले महत्वपूर्ण काम गर्छ । त्यसकारण यति महत्वपूर्ण योगका बारेमा चर्चा गर्नु र अन्तर्राष्ट्रिय जगतले समेत महत्व दिनुको पछाडी यसको उपलब्धि अत्यधिक हुनु नै हो । यस्ता यावत् कुराहरू जनमानसमा पुर्याउन योग दिवसले समेत सहयोग पुर्याउने आँकलन गर्न सकिन्छ । योगबाट फाइदा मात्रै छ । त्यसैले हरेक मान्छेले बाल्यकालदेखि योग अभ्यास गर्ने वातावरण बनाउनु आवश्यक छ । योगलाई वृद्ध अवस्थामा मात्र गर्ने भन्ने बुझ्नु हुँदैन ।
सानो बेलामै योग अनुशासन बुझेमा रिस, डाह, घमण्ड जस्ता नकारात्मक विचारहरू हटाई बालबालिकालाई शान्त, सरल, सहयोगी र धैर्य बनाउँछ । जसले गर्दा स्वस्थ समाज सिर्जना हुन सहयोग पुग्छ । यो दिवसलाई सार्थकता प्रदान गर्नका लागि योगको व्यावहारिक पाटोमा राष्ट्र, यसका सम्पूर्ण अङ्गहरू, सबै तह र तप्काका योग विधाका अनुयायीहले बहुआयामिक भूमिका निर्वाह गर्न आवश्यक छ । यदि यसो नगर्ने हो भने योग दिवस वार्षिक रूपमा आफ्ना पितृलाई सम्झनाका लागि ब्रम्हाण डाकेर गरिने श्राद्ध सरह हुनेछ । यसर्थ योगको सार्थक प्रयोग गरौँ । व्यवहारिक रूपमा योगलाई अब्बल बनाऊँ र यसको सदुपयोग गरी सफल राष्ट्र बनाउन जुटेर लागौँ । आफ्नो पुर्खाको धरोहरको कदर गरौँ अनि योग दिवसलाई सार्थक बनाऔं ।