
पाल्पा,जिल्लामा किट अभावका कारण स्वाब संकलन रोकिएका बेला बगनासकाली गाउँपालिकाले भने आफ्नै स्रोतमा पिसिआर परीक्षणका लागि भिटिएम खरिद गरी क्वारेन्टाइनमा रहेका नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । क्वारेन्टाइनमा रहेका एक सय १५ जनाको दुई दिन लगाएर स्वाब संकलन गरेको गाउँपालिकाले शुक्रबार प्रादेशिक प्रयोगशाला भैरहवा पठाएको हो ।
क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण अभावमा व्यवस्थापनमा सकस भएपछि गाउँपालिकाले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेको छ । संघ र प्रदेशको भर परेर परीक्षण बिना घर पठाउँदा कोरोना संक्रमण फैलनसक्ने भएकाले आफै स्वास्थ्य सामग्री खरिद गरी क्वारेन्टाइनमा रहेका नागरिकको पिसिआर परीक्षणका लागि प्रदेश प्रयोगशाला पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । उनले भने ‘गक्वारेन्टाइनमा भारत लगायत तेस्रो मुलुकबाट आएका एक सय २० जना नागरिक मध्ये एक सय १५ जनाको पिसिआरका लागि पठाइएको र बाँकी ५ जनाको क्वारेनटाइनमा बसेको एक हप्ता पनि नपुगेकाले पछि पठाईने छ ।’ गाउँपालिकाले पिसिआर परीक्षणका लागि एक सय ५० सेट भिटिएम खरिद गरिसकेको छ ।