Shittalpati
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत

पाल्पा, लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका तानसेनका विपन्न परिवारका लागि तानसेन गुठी काठमाडौंले राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेन नगरपालिका ६ का विपन्न वर्ग, दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मजदुरलाई वडामा पुगी राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । गुठीले वडामा रहेका ३२ जना विपन्न परिवार, ज्याला मजदुरी गरी दैनिक छाक टार्न समस्या परेका परिवारलाई राहत वितरण गरेको छ । वडा कार्यलयबाट विवरण संकलन गरी अति विपन्न परिवारहरुमा तानसेन गुठीले राहत वितरण गरेको वडा अध्यक्ष सागरमान महर्जनले बताए । चुलो बाल्न धौं धौ भएको परिवालाई केही भए पनि राहत मिलोस् भनेर खाद्यान्न सहयोग गरेको गुठीका कार्यवाहक अध्यक्ष शुसिल प्रधानले जानकारी दिए ।


गुठीले सामाजिक दुरी कायम गर्दै वडा अध्यक्ष सागरमान महर्जन, गुठीका पूर्व अध्यक्ष सर्जुलाल बज्राचार्य लगायत गुठीका पदाधिकारीहरुको उपस्थितीमा २५ किलो चामल, १ किलो दाल, १ लिटर तेल, एक किलो नुन, नुहाउने तथा कपडा धुने साबुन, एक प्याकेट सोयाविन सहित राहत वितरण गरेको हो । गुठीले विषम परिस्थितीमा वडामा रहेका विपन्न परिवारका लागि गरेको सहयोग र सद्भावको वडा अध्यक्ष महर्जनले प्रशंसा गर्दै धन्यावद दिए । उनले नगरपालिका र अन्य संघसस्थाहरुबाट भएको राहत वितरणमा छुटेका नागरिकलाई गुठीले सहयोग गरेको बताए ।


गुठीले यस अघि वडा ३ भगवती टोलका २० परिवार, वडा ५ कैलाशनगरका १७ परिवार, तानसेन १० तेल्घाका १९ परिवार, वडा १ भुसालडाँडाका २८ परिवार, वडा ३ बसन्तपुर टक्सारका २५ परिवार, वडा ४ विशाल बजारका १२ विपन्न तथा गरिब परिवारमा राहत वितरण गरिसकेको छ । गुठीले काठमाडौंमा रहेका सदस्यहरुसंग सहयोग रकम उठाएर तानसेनमा राहत वितरण गरेको हो । गुठीले तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा एक लाख रुपैयाँ सहयोग समेत गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update