
पाल्पा, के झूटो र के साँचो भन्ने कुरा छुट्याउन अब पहिला जस्तो सरल छैन् । डीप फेकको जमानामा असत्यलाई पनि सत्यको मुखौटा लगाइदिन सकिने भैसकेपछि आफ्नै आँखाले देखेको र कानले सुनेका कुरालाई पनि पत्याउन नमिल्ने अवस्था अहिले सिर्जना भएको छ । अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् । त्यसको शिकार हरेक सोझा नागरिकहरु पर्ने गरेका छन् । फेसवुक, युटुव, भाइवर, हवाट्स एप, टिकटक तथा अन्य सामाजिक सञ्जालमा आएका अधिकाश कुराहरुलाई जनताले समाचारको रुपमा पत्याएकै कारण अहिले नेपालमा मिथ्या सूचनाको जालो बढेको छ । जुन सुकै व्यक्ति पनि मिथ्या सूचनाको शिकार हुने भएकाले अहिले विभिन्न पक्षबाट ठाउँ–ठाउँमा सचेतना अभियान सञ्चालन भएका छन् ।
पूर्वखोला गाउँपालिकाले पाल्पा विकास केन्द्रको सहकार्यमा वडा नं. ५ को विरकोटमा मिथ्या सूचना विरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । पालिकाले यहाँका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई मिथ्या सूचनाविरुद्ध शिक्षा दिर्दै आएको छ । उसले विरकोटको गणपती माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ९ र १० का ७५ जना विद्यार्थीहरुलाई मिथ्या सूचनाको अवस्था बारे शिक्षा दिएको छ । सचेतना कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले अहिले नेपालमा मिथ्या सूचनाको कारण व्यक्ति, परिवार, समाजदेखी राष्ट्रसम्मले दुःख पाएको बताए । मिथ्या सूचनाको कारण व्यक्तिदेखी राष्ट्रलाई ठूलो क्षति पुगेकाले विद्यार्थीहरुबिच पालिकाले सचेतना अभियान शुरु गरेको पालिका अध्यक्ष थापाले बताए । मिथ्या सूचनाबाट आफु बच्न र अरुलाई बचाउन पूर्वखोला गाउँपालिकाले विद्यालयका विद्यार्थीहरुबाटै सचेतना अभियान शुरु गरेको पालिका अध्यक्ष थापाले बताए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तिर्थबहादुर सारुले समाजमा विभिन्न पक्षबाट सामाजिक सञ्जालमार्फत झुठो समाचार फैलाएर मानिसहरुमा भ्रम पार्ने, दुःख दिने काम भएकाले अहिलेदेखी विद्यार्थीहरु सचेत हुनुपर्नेमा जोड दिए । सचेतना अभियानबाट नै मिथ्या सूचनालाई निरुत्साहित गर्न सकिने र विद्यार्थीहरु पनि सचेत हुनुपर्ने सहायक प्रधानाध्यापक सारुले बताए । कार्यक्रममा मित्था सूचनाको बारेमा पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले मिथ्या सूचना फैलिने, आधार, अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले सामाजिक सञ्जालमा आएका सबै सूचनाहरु सत्य, तथ्य, र यर्थाथमा आधारित नहुने भएकाले देख्दा पत्याउने खालका देखिएपनि आफ्नो स्वार्थको लागि राखिएका हुनाले राम्रोसँग बुझेर मात्र लाईक, कमेन्ट तथा शेयर गर्नुपर्ने बताए ।
सामाजिक सञ्जालका गतिविधीहरु नबुझि बास्तविकता थाहा नपाई लाईक, कमेन्ट तथा शेयर गरेकै भरमा कानुनी कारवाहीमा पर्न सकिने अवस्था आउने प्रशिक्षक कौशलले विद्यार्थीहरुलाई जानकारी गराए । विद्यार्थीहरुलाई मिथ्या सूचनाबाट बच्ने तरीका, कानुनी उपचार, सम्वन्धित पक्षलाई उजुरी गर्ने तरीकाको बारेमा प्रशिक्षक कौशलले जानकारी गराएका थिए ।