
बुटवल, कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले साना किसानहरुको पहुँच बैंकसम्म पुर्याई लगानीलाई सरल र सहज बनाउन सके कृषि उत्पादन बढाउन सकिनेमा जोड दिएका हुन् ।
हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा भएको कार्यक्रममा बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र सहकारीका पदाधिकारीहरुले सरल र सहज लगानीबाट कृषि उत्पादन बृद्धि गर्न सकिनेमा जोड दिर्दै साना किसानहरुलाई बैंकसम्म पहुँच पुर्याउनुपर्ने बताए । कृषि विकास बैंक लिमिटेडका लुम्बिनी प्रदेश निर्देशक नवराज न्यौपानेले कृषकहरुको उत्पादन परिमाण र गुणस्तर बृद्धि गर्दै बजारीकरणमा जोड दिनका लागि बैंकहरुको लगानी कृषक मैत्री हुनु पर्ने बताए । उनले साना किसानहरुको पहुँच बैंक सम्म पुर्याउन चुनौति भएकोमा बैंक साथी परिचानलनको अवधारणाबाट हेफरले गरेको सहजीकरण प्रभावकारी हुने उल्लेख गरे ।
साना किसान र सहकारीहरुलाई लक्षित गरी ६ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्न भिटा परियोजना शुरुवात गरिएको र परियोजना मार्फत हेफरको कार्यक्षेत्र तथा लुम्बिनी प्रदेशका अन्य सम्भावित क्षेत्रहरुमा पनि वित्तिय साक्षरता कार्यक्रम र व्यवसायिक बैठकमा सहयोग र सहजीकरण गरिएको भन्दै धितोको मापदण्ड पुर्याई ऋण माग गर्ने सहकारीलाई यथासक्य छिटो ऋण प्रवाह गरिने प्रमुख न्यौपानेले बताए । प्रभु बैंक लिमिटेडका प्रदेश प्रबन्धक स्मृति श्रेष्ठले प्रक्रिया पुरा गरी आएका कृषकहरुलाई प्राथमिकतामा राखी ऋण प्रवाह गरिने बताइन् । राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख संगिता धितालले हेफरसँगको सहकार्यमा सामाजिक उद्यमी महिला सहकारीहरुमा विना घितो ऋण लगानी गरेको जानकारी गराउदै सहकारीहरुको क्षमता विकासमा जोड दिदै, कृषि तथा पशु बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने र सहकारीहरुको डकुमेन्टसनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । हेफर ईन्टरनेशन नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्ब्युले सहकारीको क्षमता विकास तथा लगानीको वातावरण निर्माण गर्न हेफरले सहयोग र सहजीकरण गर्दै आएको उल्लेख गर्दै, हेफरको सहजीकरण सहयोगमा १७ वटा बैंकहरुसँग समन्वय गरी नेपाल भर २ अर्व ४० करोड ६२ लाख ७६ हजार ४ सय ८ रुपैयाँ ११ हजार ६ सय ९५ जनालाई लगानी गरिएको बताए ।
उनले हेफर बुटवल क्षेत्रिय कार्यालय अन्तरगत १६ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरी ३ सय २१ जना महिला तथा युवा उद्यमी र २९ वटा सहकारीमा ४० करोड ७७ लाख ०८ हजार रुपैया लगानी गरिएको समेत बताए । बुटवल क्षेत्रिय कार्यालय अन्तर्गत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र स्याङ्जा जिल्लाका १२ वटा स्थानीय तह र ८१ वटा सहकारीमा कार्यक्रम सञ्चालन भएको उनको भनाइ छ ।
कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड बुटवलका प्रबन्धक प्रभात रमण उप्रेती, प्रभु बैंक लिमिटेड तानसेन शाखा प्रबन्धक नगेन्द्र रत्न कोईराला, रानीबास गुल्मी शाखा प्रबन्धक नविन बस्याल, राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखा प्रमुख रविन गौतम, भैरहवा शाखा प्रमुख ऋषिकेश ज्ञवाली, सिद्धार्थ ईन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख गणेश पन्थी, भिटा परियोजनाका लुम्बिनी प्रदेशका फोकल पर्शन बालकृष्ण अर्याल, सप्लाई चेन अधिकृत रुपेश न्यौपाने, निशा न्यौपाने, सेवा नेपालका केन्द्रिय सदस्य शारदा रायमाझी, लुम्बिनी प्रदेश सहसचिव तुल्सी थापा, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी, मुहान सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष लिला अधिकारी, गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष सिमा सिंजापति, बैक साथी सुनौला केसी लगायतले बैंक मार्फत हुने लगानी प्रक्रिया, धितो मुल्यांकन, बैंक साथी परिचालन, बीमा, वित्तिय साक्षरता र व्यवसायिक बैठक लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए । हेफर ईन्टरनेशन नेपालको सहजीकरणमा गरिएको लगानीको अवस्था, अवसर र चुनौतिको विषयमा हेफर ईन्टरनेशन नेपालका वित्तिय अधिकृत नागेन्द्र भट्टको प्रस्तुती र नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेको सहजीकरणमा कार्यक्रम भएको थियो ।