Shittalpati
सक्षम बन्दैछन् तानसेनका महिला जनप्रतिनिधी

पाल्पा, तानसेन नगरपालिकाका महिला जनप्रतिनिधीहरु अहिले सक्षम, क्षमतावान बन्दै नेतृत्व विकासमा जुटेका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले  पालिकाको प्रमुख वा उप–प्रमुख मध्ये एक जना महिला र प्रत्येक वडामा वडा अध्यक्षसहित पाँच जना निर्वाचित सदस्यहरुमध्ये एक जना खुला र दलित  गरी दुई महिला सदस्य अनिवार्य हुने गरी जनप्रतिनिधीको  व्यवस्थाले महिलाहरुलाई नेतृत्वमा आउन बाटो सहज भएको छ ।

संविधान तथा कानुनमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउने व्यवस्था कायमसँगै राजनीति तथा जनप्रतिनिधीमुलक संस्थाहरुमा महिलाको संख्या बृद्धि भएको छ । महिला जनप्रतिनिधीहरुलाई विभिन्न समयमा हुने क्षमता विकास तथा नेतृत्व विकास कार्यक्रमहरुले मनोवल बृद्धि गरेको छ । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट हुने क्षमता विकासका कार्यक्रमहरुले महिला, अपाङ्ग, पिछडिएको बर्ग, समुदायमा भएका समस्याहरुको पहिचान र समाधान गर्न तानसेनका जनप्रतिनिधी महिलाहरु सक्षम बन्दै गएका छन् । ऐन, नियम कानुनमा राज्यबाट प्राप्त सेवा सुविधाबाट  बञ्चित भएका महिलाहरुको अधिकार दिलाउने काममा समेत महिला जनप्रतिनिधीहरु अग्रसर देखिन्छन् । महिला जनप्रतिनिधीहरुमा निरन्तर क्षमता विकाससँगै भएको  नेतृत्व विकासले अबका दिनमा जुनसुकै पदीय जिम्मेवारीमा निर्धक्क भएर काम गर्न सक्ने हैसियमा पुगेका छन् ।

 नेतृत्व विकासमा अब्वल बन्दै

नगरपालिकाको ७३ जनाको जनप्रतिनिधीहरुको निर्वाचित वोर्ड संरचनामध्ये  उपप्रमुखसहित ३३ जना महिलाहरुको संख्या रहेको छ । नगरपालिकाको १४ वटा वडाबाट महिला र दलित गरी २८ जना महिलाहरु निर्वाचित भएका छन् भने वडा नंं. ३, वडा नंं .६ र वडा नं. १२ बाट खुला सदस्यमा महिला सदस्य निर्वाचित भएका छन् । एक जना दलित महिलालाई तानसेन नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनिति गरेको छ ।  तानसेन नगरपालिकाको बोर्डमा ३३ जना महिला मध्ये  खस आर्यमा ८ जना, जनजातीमा ८ जना र दलित १७ जनाको प्रतिनिधित्व तानसेन नगरपालिकामा रहेको छ । जनप्रतिनिधीमा सबैभन्दा बढी उमेर वडा नं. ६ की गोमा गैरे र सबैभन्दा कम उमेरकी वडा नं. ८ की अनिता सोमै रहेका छन् । बढी उमेरकी गैरै देखी कम उमेरकी सोमै सम्मका महिला जनप्रतिनिधीहरुले आ–आफ्नो काम र जिम्मेवारीमा सक्षम बनेका छन् । नगरपालिकामा ३३ जना महिला जनप्रतिनिधीहरु मध्ये एक जना उपप्रमुखसहित ६ जना कार्यपालिका  सदस्य रहेका छन् । ६ जना कार्यपालिका सदस्यमध्ये, ३ जना दलित,  ३ जना ब्रामण, क्षेत्री रहेका छन् । ६ जना महिला कार्यपालिका सदस्यहरु एक दिन पनि कार्यपालिकाको बैठकमा अनुपस्थित भएका छैनन् । नगरका सबै  महिला जनप्रतिनिधीहरु विभिन्न विषयगत समितिमा बसेर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । तानसेन नगरका ३१ जना महिला जनप्रतिनिधीहरुले वडा वडामा कार्यवाहक प्रमुख तथा निमित्त प्रमुखको जिम्मेवारी समाल्दै आएका छन् । महिला जनप्रतिनिधीहरुले गरेका वडाको जिम्मेवारीमा आजसम्म कुनै विवाद आएको छैन् । महिला जनप्रतिनिधीहरुले गरेका कामहरु कुशलतापुर्व गर्दै सफलतामा पुर्‍याएका छन् ।

काममा परिपक्ता
नगरपालिकामा २०७९ सालको स्थानीयतहमा निर्वाचनमा निर्वाचित ३१ जना महिलाले  नगरको १४ वटा वडाहरुमा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा काम गर्ने अवसर पाएका छन् । महिला जनप्रतिनिधीहरु कार्यवाहक वडा अध्यक्षको नेतृत्व गर्न सफल भएकाले आगामी दिनमा जिम्मेवारी पाएको खण्डमा  वडा अध्यक्षदेखी नगर प्रमुखसम्मको नेतृत्व लिन  सक्षम बनेको  तानसेन –५ की लक्ष्मी विकले बताईन् । हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधीहरुले आगामी निर्वाचनमा  वडाअध्यक्षको उम्मेदवारी दिने साेंचमा रहेको बताएका छन् । यहाँका १४ वटै वडा अध्यक्षहरुले दिएको कार्यवाहकको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेको महिला जनप्रतिनिधीहरुले बताएका छन् ।

विषयगत समितिको नेतृत्व गर्ने चाहाना

यहाँका महिला जनप्रतिनिधीहरुले विभिन्न विषयगत समितिको संयोजक पदमा बसेर काम गर्ने चाहाना राखेका छन् । उनीहरुले समितिको संयोजकमा बसेर काम गर्न नगर प्रमुख तथा नगरवोर्डसँग माग गर्दै आएका छन् । यहाँका महिला जनप्रतिनिधीहरुले कुनै पनि विषयगत समितिको संयोजकको जिम्मेवारी पाएका छैनन् । उनीहरुलाई विषयगत समितिको संयोजकको जिम्मेवारी नदिएकोमा  नगर प्रमुखप्रति महिला जनप्रतिनिधीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । “हामी महिला जनप्रतिनिधीहरु विषयबस्तु माथी सही निर्णय र कार्यान्वयन गर्न दक्ष र क्षमतावान छौं  तर पनि पटक–पटक  विषयगत समितिको संयोजक माग गर्दा पनि जिम्मेवारी नपाउँदा दुःख लागेको  छ”, वडा नंं २ की महिला सदस्य सविता भट्टराईले भनिन् । जिम्मेवारी दिएमा पुरुषले भन्दा राम्रो काम गरेर देखाउथ्यो तर जिम्मेवारी नपाउँदा अन्याय भएको महशुस भएको कार्यपालिका सदस्य मञ्जु विकले बताईन् । महिला प्रतिनिधीहरुको सक्रिय भूमिकाको कारण, समाजमा न्याय मिलेको, कामहरु प्रभावकारी रुपमा भएको, अनियमिता, ढिला सुस्तीमा कमी आएको छ ।

बैठकमा प्रभावकारी भूमिका
कार्यपालिका बैठकमा सहभागी हुँदा समेत महिला जनप्रतिनिधीहरु विषयबस्तुमाथी अध्ययन तथा तयारी गरेर पुग्ने गरेका छन् । “कार्यपालिकाको बैठक बस्नु एक/दुई दिन अघि नै बैठकका एजेण्डाहरु मोवाईलमा एसएमएस आउँछ । हामीले प्राप्त गरेका एजेण्डा प्रस्ताव माथी आपसमा छलफल तथा अध्ययन गरेर मात्र बैठकमा जाने गरेका छौं” कार्यपालिका सदस्य मञ्जु विकले भनिन् । पहिले–पहिले हामी विना अध्ययन बैठकमा जाने गरेका थियौं, प्रस्तुत प्रस्तावहरु माथी जिज्ञासा राख्नु भन्दा पनि तालि पिटेर समर्थन गर्दथ्यौ तर अहिले  विभिन्न किसिमका क्षमता विकास, तालिम पाएपछि बैंठकका विषयबस्तु माथी अध्ययन गरेर मात्र सहभागी हुने गरेको कार्यपालिका सदस्य विकले बताईन् । नगरका सार्वजनिक सरोकारका विषयहरु सामुहिक रुपमा प्रस्ताव अगाडि बढाउनुपर्ने अवस्था भएमा विषयबस्तुको टुंगो लगाएर मात्र  कार्यपालिका बैठकमा  सहभागी हुने गरेको उनले बताईन् । पछिल्लो समयमा नगरका अधिकाश प्रस्ताव तथा योजनाहरुमा छलफल गरेर मात्र पास गर्ने गरेको उनले बताईन । सामुहिक रुपमा प्रस्ताव राख्छौ, अन्यथा एकल रुपमा प्रस्ताव माथी संशोधन तथा विविधमा आफ्ना प्रस्तावहरुमा पेस गर्ने गरेको कार्यपालिका सदस्य लक्ष्मी नेपालले बताईन् । तानसेन नगरपालिका भित्र आउने हरेक किसिमका मुद्दा तथा घटनाहरु आपसी छलफल तथा अन्तक्र्रिया र मेलमिलापबाट टुंगोमा पुर्‍याउने गरी काम गर्दै आएको वडा नं. २ की महिला सदस्य एवं कार्यपालिका सदस्य सविता भट्टराईले बताईन् ।

महिला, अपाङ्ग, दलितका मागहरुप्रति चासो  
महिला जनप्रतिनिधीहरु भएकै कारण महिला, अपाङ्ग, दलितका मागहरु सुनुवाई बढेको छ । केही बर्ष पहिले महिलाका केशहरु कम मात्रामा बाहिर आउन्थे । तर अहिले महिलाका स–साना कुराहरु समेत महिला जनप्रतिनिधीमार्फत सम्वोधन भएपछि नगरका हरेक सामाजिक महिला प्रतिनिधीहरुको सक्रियतामा महिलाका विशेष समस्याहरुलाई ध्यान दिएर काम भएका छन् ।   महिलाको प्रजनन् स्वास्थ्य, भिआइए परीक्षण, पाठेघर मुखको क्यान्सर तथा स्तन परीक्षण, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम प्रत्येक वडा वडामा नियमित रुपमा हुँदै आएको  वडा नं. ३ की महिला सदस्य सुनिता श्रेष्ठले बताईन् । सहयोगी बन्दै दलित महिला केन्द्रक्रियाकलापमा महिलाहरुको सहभागितामा बृद्धि भएको छ । नगरभित्रका ठूला–ठूला मेला महोत्सवदेखी आयआर्जनका क्रियाकलापमा महिलाहरुको सक्रियता बढेको छ । वडाभित्र महिलामैत्री पुर्वाधार, महिला सचेतना, महिला आयआर्जनका कामहरुमा बढेको नगर उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले बताईन् । जनप्रतिनिधीमा निर्वाचित भएपछि धेरै काम कुराहरु थाहा थिएन् दलित महिला केन्द्र नेपालले हामी जनप्रतिनिीहरुले गर्नुपर्ने क्रियाकलाप, आनिवानी व्यवहारका विषयमा भएको प्रशिक्षणबाट काम गर्न सजिलो भएको कार्यपालिका सदस्य सविता भट्टराईले बताईन् ।

गाउँबस्तीमा पुगी योजना संकलन, योजनाको प्राथमिकरण ,योजना तर्जुमा चरणको बारेमा महिला जनप्रतिनिधीहरु सक्षम भएका छन् । जनप्रतिनिधीहरुले गर्नुपर्ने काम कर्तव्य, जिम्मेवारीको बारेमा प्रष्ट जानकारी थिएन द एसिया फाण्डेसन र दलित महिला केन्द्र नेपालको सहकार्यमा समय सयमयमा भएका क्षमता विकास कार्यक्रमबाट महिला जनप्रतिनिधीहरुलाई सहयोग मिलेको वडा नं. १० की कार्यपालिका सदस्य अनु रामदामले बताईन् । दलित महिला केन्द्र नेपालले तानसेन नगरपालिकाका महिला जनप्रतिनिधीहरुलाई सार्वजनिक स्थानमा बोली चाली देखी विषयबस्तु केन्द्रित भाषणकलाको विषयमा समेत  प्रशिक्षण दिएको छ । संस्थाले सामाजिक क्षेत्रमा हुने नेतृत्व चयन प्रक्रिया तथा चरणहरु, नगर सभा तथा कार्यपालिका बैठकमा महिला कार्यपालिका सदस्यहरूको भूमिका  र वडा वडामा  महिला वडा सदस्यहरूको भूमिका र जिम्मेवारीहरूको विषयमा  क्षमता विकासका कार्यक्रमहरु गर्दै आएको छ । महिला जनप्रतिनिधीहरुको नेटवर्किङ, दिशा निर्देशन, परामर्श नीतिको विषयमा जानकारी, राजनीतिक नेतृत्वमा महिलाहरुको अवस्था र भूमिकाको बारेमा दलित महिला केन्द्रले महिला जनप्रतिनिधीहरुलाई क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको केन्द्रकी कार्यक्रम अधिकृत निर्मला शाहीले बताईन् ।  तानसेन नगरको विभिन्न वडा  बैठकको योजना र व्यवस्थापनमा परामर्श, योजनाका सात चरणहरूमा परामर्श, मेयर, उपमेयर र वडा अध्यक्षको भूमिका र जिम्मेवारीहरू लगायतका विषयमा महिला जनप्रतिनिधीहरुलाई प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन हुँदै आएको केन्द्रकी कार्यक्रम अधिकृत शाहीले बताईन् ।

समितिमा  महिलाहरुको सक्रिय सहभागिता 

महिला  जनप्रतिनिधीहरु नगरपालिकाको विभिन्न विषयगत समितिमा बसेर सक्रियताका साथ काम गर्दै आएका छन् । कार्यपालिका सदस्य लक्ष्मी नेपाल दररेट निर्धारण समितिको सदस्य रहेर काम गर्दै आएकी छन् । सदस्य नेपालले तालिम विना ३ बर्षदेखी नगरको दररेट निर्धारण समितिमा बसेर काम गर्दै आएकी हुन् । उपभोक्ताले बनाएका  योजना राम्रो र प्रभावकारी हुन्छन्  तर दररेटको कारण अधिकाश योजना कोटेशन तथा टेण्डरबाट गर्नुपर्ने बाध्यता रहेको उनले बताईन् । कार्यपालिका सदस्य लक्ष्मी विक योजना अनुगमन तथा मुल्याङ्कन समितिको सदस्य रहेकी छन् । विकले वार्षिक ३ सयदेखी ४ सय योजनाहरु अनुगमन गर्दै आएकी छन् । प्राविधिक क्षमतादेखी उपकरण, ल्याव टेष्टसम्मको विषयमा काम गर्दै सिक्दै आएकी छन् ।

नगर प्रमुख बन्ने आकाक्षा
यहाँका महिला जनप्रतिनिधीहरुले स्थानीय सरकारको निति नियम, कार्यक्रम योजना तथा बजेटका विषयमा विज्ञता हासिल गरेका छन् । हाल कार्यपालिका सदस्यदेखी वडा सदस्यहरुको भूमिकामा रहेका महिला जनप्रतिनिधीहरु आउँदो निर्वाचनमा वडा अध्यक्ष देखी नगर प्रमुखसम्म उम्मेदवारी दिने चाहाना राखेका छन् । अहिले नगरपालिका निर्वाचित महिलाहरु कार्यकारी पदमा नभएकाले आगामी दिनमा कार्यकारी पदमा बसेर जनताको सेवा गर्ने इच्छा उनीहरुको रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update