
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा केही वर्षअघिदेखि राष्ट्रिय झण्डा फहराई रहयो । तर झण्डाको अवस्था हेर्दा उदेक लाग्दो नै थियो । किनकि राष्ट्रिय झण्डा धुजा–धुजा भई च्यातिएको अवस्थामा थियो ।
जिल्लाकै सदरमुकाममा रहेको ठाउँमा राष्ट्रिय झण्डा च्यातिँदासमेत यहाँको स्थानीय सरकार, राजनीतिक दल, कर्मचारीहरुको ध्यान तान्न सकेन् वा, उनीहरु हेरेर पनि नजरअन्दाज गरिरहे । देशकै प्रतिष्ठाको विषय रहेको राष्ट्रिय झण्डामा कसैको पनि चासो नपुगेका बेला यहाँका एक युवाले भने उक्त च्यातिएको झण्डा फेरेका छन् । राष्ट्रप्रेमीको नामले परिचित बगनासकाली गाउँपालिका –८ बराङ्दीका २२ वर्षिय सुशिल बस्यालले च्यातिएको झण्डा हटाएर नयाँ झण्डा गाडेका हुन् । सामाजिक अभियन्ता तथा “एक घर, एक लालीगुँरास” अभियानका अभियन्ता समेत रहेका बस्यालले राष्ट्रिय पहिचान बोको झण्डाको अपमान गर्नु दुखद् भएको भन्दै आफुहरुले नयाँ झण्डा लगेर गाडेको एनजेडीलाई बताए । उनले भने “सामाजिक सञ्जालमा च्यातिएको झण्डा सुन्दर डाँडामा लजाइ लजाई फरफराएको देखें, मेरो मनले झण्डाको अपमान भएको देख्न सकेन र एउटा झण्डा लगेर त्यहाँ गाडेर आएको हुँ ।” उनले च्यातिएको झण्डा हटाए पछि सामाजिक सञ्जालमा समेत सकारात्मक टिप्पणीहरु आएका छन् ।
झण्डा फेर्नका लागि उनले कुनै अनुमति लिएनन् । “झण्डा राष्ट्रको अस्मिता हो, त्यसको अपमान सहन सकिन,” बस्यालले भने “यो पहलप्रति स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन् । च्यातिएको झण्डा फेरिएको छ, तर यस अभियानले केवल झण्डा परिवर्तन गरेको होइन, नागरिक जिम्मेवारी र चेतनाको बहस पनि सुरु गराएको सामाजिक सञ्जालमा टिप्पणीहरु आएका छन् । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सचिव समेत रहेका बस्यालले गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति सम्मान र चिन्तन व्यक्त गर्दै आएका छन् ।