Shittalpati
पूर्वखोलामा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका रिङ्नेरहमा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुरु भएको छ । पाल्पा विकास केन्द्रको आयोजना, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालयको सहयोग र पूर्वखोला गाउँपालिकाको समन्वयमा दुई दिने सचेतना कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले शुभारम्भ गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै उनले पालिकाका विभिन्न क्षेत्र तथा वडाहरुमा लुकिछिपी भईरहेका बालविवाह र आत्महत्यालाई न्युनिकरण गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । जनचेतना कमीमै कारण बालविवाह र आत्महत्याका घटनाहरु भएकाले यस्ता कार्यक्रमहरु हरेक क्षेत्रबाट निरन्तर भईरहनु पर्नेमा अध्यक्ष थापाले जोड दिए । विशेषगरी विभिन्न समुदायमा अझै पनि २० बर्ष भन्दा कम उमेरमै भागेर विवाह गर्ने, पढ्दा पढ्दै कक्षा छोड्ने क्रमलाई पालिका भित्र पूर्णरुपमा न्युनिकरणको लागि समुदायको प्रमुख हात रहेको अध्यक्ष थापाले बताए ।

गाउँपालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बालविवाहको कारण सबैभन्दा पिडा महिलाहरुलाई नै हुने भएकाले महिलाहरु नै बढी सचेत हुनुपर्ने बताईन । बालविवाहको कारण सानै उमेरमा विवाह हँुदा, पढाई कमजोर हुने, कलिलै उमेरमा बच्चाको आमा बन्ने, कम उमेरमै पारिवारिक बोझले सताउने, कम उमेरमा गर्भवती हुँदा समय–समयमा स्वास्थ्य समस्या हुने जस्ता समस्याहरु देखिने गरेकोले समय–समयमा सचेतनाका कार्यक्रम जरुरी रहेको उपाध्यक्ष शर्मा भट्टराईले बताईन् ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता मेहर सिं थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, कानुन व्यबसायी अधिबक्ता नारायण ज्ञवाली, पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशल लगायतले सहजीकरण गरेका छन् । जेठ २६ र २७ गते सञ्चालन भएको कार्यशालामा वडा नंं २ जल्पा, वडा नंं ३ रिङ्गनेरह र वडा नंं ४ देवीनगरका  शिक्षक, विद्यार्थी, वडा सदस्य, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा व्यक्तिहरुको सहभागीता रहेको छ । अन्य ३ वटाहरु वडा नंं १ सिलुवा, वडा नंं ५ विरकोट र वडा नंं ६ हेक्लाङ्गका शिक्षक, विद्यार्थी तथा अगुवा व्यक्तिहरुलाई अर्काे चरणमा तालिम प्रदान गर्ने  पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक  कौशलले जानकारी दिए । तालिममा सहभागी भएका प्रशिक्षकहरुले आफ्नो, गाउँटोल, विद्यालय, समुदाय तथा घर–घरमा पुगेर सचेतना जगाउँदै पालिका भित्र हुने बालविवाह तथा आत्महत्यालाई न्युनिकरण गर्ने छन् । ३ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षता, पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update