Shittalpati
 छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, काठमाडौं, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।

गुल्मीको सत्यवती गाउँपालिका–२ पहादीस्थित सडकमा जेसिबिको ठक्करबाट एक पैदलयात्रीको मृत्युु भएको छ ।  बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँकी ८४ वर्षीया जमुना पाण्डेको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोकीराखेको जेसिबि आफै गुड्न गई उक्त दुर्घटना भएको थियो । प्रहरीले हाल फरार जेसिबि चालकको खोजी गरिरहेको छ ।

यस्तै काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा टिपरको ठक्करबाट अर्का एक पैदलयात्रीको मृत्युु भएको छ ।  बा.प्र.०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५६ वर्षीय राजकुमार पौडेलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरूवास्थित सडकमा सु.प.प्र.०१–००१ ह ५१४८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार अटो चालकको नाती १० महिनाको आयुष साउँदको  मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र ०१–०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update