
पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
निर्माणाधीन सुरुङमार्गको हालसम्मको समग्र भौतिक प्रगति ५३ दशमलव ४१ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ४७ दशमलव ८ प्रतिशत रहेको छ । यो जेठ १८ गते सम्म सिद्धबाबा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको विवरण हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढेको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको काम ९ सय ९० मिटर सकिएको छ भने लाइनिङको काम एक हजार एक सय २६ मध्ये ६ सय ६० मिटर सकिएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताईन् । उनका अनुसार बाइपास –१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ भने बाइपास ३ मा ‘इन्भर्ट’ को काम सुरु भएको छ । बाइपास –१ मा एक सय ५१ मिटर रहेकोमा इन्भर्टको काम एक सय ४५ मिटर र लाइनिङको काम एक सय १८ मिटर भइसकेको छ । यस्तै बाइपास –२ मा एक सय ६१ मिटर रहेको छ । तर यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन् । बाइपास –३ मा १ सय ३० मिटर रहेको छ । जसमा इन्र्भटको काम ३६ मिटर भइसकेको पाइन्छ । लाइनिङको काम भने सुुरु भएको छैन् । काम तिव्र गतिमा भइरहेको र बजेट समेत सुनिश्चित भएकाले काम निर्धारित समयमै हुनेमा यात्रुहरु विश्वस्त भएका छन् । देशको आर्थिक अवस्थाका कारण सरकारले आगामी आर्थिक वर्षमा सुरुङमार्गको बजेट कटौती गर्ने हो कि भन्ने आशंकामा निराश रहेका यात्रुहरुमा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा निर्माण कार्यलाई बजेट विनियोजन गरेपछि भने खुसी छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको बजेट वक्तव्यमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको आगामी दुई वर्षभित्रमा सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको बताएकम थिए । पाल्पा–सिद्धबाबा मन्दिरदेखि १ हजार १ सय २६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गासुरुङमार्गका लागि दुई अर्ब ६० करोड विनियोजन गरिएको छ । बजेट विनियोजन भएपछि काम समयमै सम्पन्न हुनेमा आफुहरु विश्वस्त रहेको उक्त सडक खण्ड प्रयोग गर्दैै आएका यात्रु गोविन्द्र पोखरेल बताउन्छन् । उनले भने “सरकारले यस पटक आर्थिक अभावका कारण बजेट कटौती गरेर सुरुङमार्गको काम समयमै नसकिने हो भन्ने लागेको थियो । तर त्यसो देखिएन । सरकारले बजेटमै प्राथमिकतामा राखेको कुराले खुसी लागेको छ ।” अर्का यात्रु गम्भीर रायमाझीले पनि कतिपय सञ्चालन भएर अन्तिर चरणमा पुगेका योजनाहरु बजेट अभावमा अलपत्र परेका धेरै भएकाले कतै सुरुङमार्गको काम पनि त्यस्तै हुने त हैन भन्ने लागेकोमा बजेट छुट्याइएकाले आफुहरु जस्ता यात्रुहरुमा सुखीयाली छाएको बताए । बजेट विनियोजनले सुरुङमार्गको काम निर्धारित समयमै सकिने भएपछि यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौँ यात्रुलाई खुसी दिलाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १ सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।
सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष राखिएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि वर्षौंदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्याउने गर्दछ । दैनिक हजारौँ सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौँ मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौँ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । वर्षामा यो सडक क्षेत्र त्यसै पनि अति जोखिममा छ । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।