
पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पर्सा र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ ठूलो पिपरास्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । एचआर ५८ ई ५८९३ नम्बरको ट्रकले ना.४४ प.९८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१४ ठूलो पिपरा बस्ने ३५ वर्षीय सहिद अंसारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै पर्साकै पकाहा मैनपुर गाउँपालिका–३ स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्युभएको छ । धोरेबाट खेस्राहातर्फ जाँदै गरेको बिआर २२ एवाई २९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका–२ चर्गाहा बस्ने ३० वर्षीय शत्रुधन मुखियाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सर्लाहीको बागमती नगरपालिका–८ स्थित सडकमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त २८७ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सागर बिष्टकी छोरी ४ वर्षीया प्रनिषा बिष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वयोधा अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन वटै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।