
हरेक वर्ष बढ्दो क्रममा रहेको बेरुजु नियन्त्रण गर्न सरकार असफल भएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो ।
सरकारी निकायमा बढ्दो जथाभावी खर्च प्रवृत्तिलाई महालेखा परीक्षकको पछिल्लो वार्षिक प्रतिवेदनले थप पुष्टि गरेको छ । शासनसत्ता हाँक्नेहरू नै वित्तीय सुशासन कायम गर्नुको सट्टा भ्रष्टाचार र अनियमिततामा संलग्न हुँदा बेरुजु अंक उकालो लागिरहेको महालेखा परीक्षकको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । वर्षमै खर्बमा बढेको बेरुजुले राज्यकोष सञ्चालनमा मौलाएको बेथिति उजागर गर्छ । आव २०७९/०८० सम्म बेरुजु रकम ६ खर्ब ६९ अर्ब ८६ करोड ३० लाख रहेको थियो । बाँकी ६ खर्ब ४१ अर्ब ५० करोड ३० लाख बेरुजु अर्को आर्थिक वर्षमा सरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । २०८०/८१ को असार मसान्तसम्मको कुल बेरुजुले ७ खर्ब नाघेको हो । यसले मुलुकको आर्थिक पारदर्शितामा प्रश्न उठाएको छ । रकम विनियोजन गर्ने निकाय अर्थ मन्त्रालयको सबैभन्दा धेरै बेरुजु देखिएपछि देशको आर्थिक सुशासन कस्तो रहेछ भन्ने बुझ्न सकिन्छ । मुलुकमा सुशासनको अवस्था कमजोर भइरहेका बेला सरकारी निकायमा नियम विपरीत खर्च गर्ने प्रवृत्तिका कारण पनि मुलुकमा भ्रष्टाचार देखाएको छ । पाल्पाका केही स्थानीय सरकारले गत वर्षको तुलनामा बेरुजु घटाए पनि समग्र मुुलुकको अवस्थालाई हेर्दा बेरुजु बढ्दो देखिएको छ । यो अत्यन्त दुखको कुरा हो ।
आव २०८०÷०८१ मा संघ, प्रदेश र स्थानीय तह तथा अन्य संघसंस्था गरी ५ हजार ७ सय ५९ वटा कार्यालयको लेखापरीक्षण गर्दा ९१ अर्ब ५९ करोड ७९ लाख रुपियाँ बेरुजु देखिएको छ । सो अद्यावधिक बेरुजु गतवर्षभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ । हालसम्मको बेरुजुमध्ये कारबाही गरी टुंगो लगाउनुपर्ने रकम मात्र ५ खर्ब ५१ अर्ब १ करोड रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । बेरुजुको विषय हरेक वर्ष प्रतिवेदनमा औंल्याइन्छ । तर कार्यान्वयन फितलो भएको छ । वास्तवमा बेरुजुलाई सामान्य र स्वाभाविक रुपमा लिने प्रवृत्तिका कारण हरेक वर्ष यसको अंक थपिएको हो । निश्चित अवधिभित्र बेरुजु फछ्र्योट नगरे भ्रष्टाचार ठहरिने र त्यसका लागि कठोर कानुनी कारवाही बहन गर्नुपर्ने नीति कडाइका साथ लागु गरियो भने मात्र यसको अंक घट्दै जाने छ । यसर्थ यसतर्फ सम्बन्धित निकाय र संघीय सरकारले ध्यान दिन जरुरी छ ।