
पाल्पा, पढे पछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने । अर्कोतर्फ पढेका व्यक्तिले सानो वा तुक्ष्छ काम गर्नु हुँदैन भन्ने धेरैको सोंच हुन्छ तर पाल्पामा यस्ता युवाहरु छन् जसले स्नातक गरेर पनि फोहोरमा मोहर खोज्दै छन् ।
जिल्लाको तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइ जसले विगत पाँच वर्ष यता कवाडीमै मोहर खोज्दै छन् । यहाँका २७ वर्षीय सुशील भण्डारी, २५ वर्षीय उमेश भण्डारी र २३ वर्षीय टार्जन भण्डारीले तानसेन –७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरेका छन् ।
सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन्, उमेशले विएससी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् र टार्जनले विविए पूरा गरिसकेका छन् । तर उनीहरुमा न विदेश जाने सोंच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोंच छ तानसेनलाई फोहोरमुक्त सहर बनाउने । उनीहरुले सहरलाई फोहोरमुक्त मात्रै होइन त्यही फोहोरबाट मनग्य आम्दानी समेत गर्दै आएका छन्
घरबाट निस्कने फोहोर हरेक व्यक्तिका लागि समस्याका रूपमा रहेको हुन्छ । एक दिन घरबाहिर फाल्न पाइएन भने घरनै फोहोर हुन्छ । अझै सडक छेउछाउ तथा नदी किनारमा जताततै फालिएका यस्ता फोहोरले वातावरण नै विगार्नुको साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको हुुन्छ । तर यही फोहोरलाई भण्डारी दाजुभाइले मोहरमा परिणत गरेका छन् । उनीहरुले घर–घरबाट निस्कने फलाम, प्लाष्टिक, कागज, बोतल, सिसा जस्ता काम नलाग्ने वस्तुहरु संकलन गर्ने गर्छन् । संकलित भएका कवाडी बस्तुहरुको वर्गिकरण गरी उनीहरुले भैरहवा, काठमाडौं, विरगञ्ज लगायतका ठूला सहरका रिसाइकल कम्पनीहरुमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरु भने आफै रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी संकलनबाटै वार्षिक ३० देखि ५० लाख सम्म कमाई गर्दै आएका छन् । कवाडी संकलनका लागि उनीहरुले ६ जनालाई रोजगारी समेत दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् ।
सुरुमा पढेका युवाहरुले फोहोर संकलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन सम्झदै भन्छन् “शुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले पनि सोचेका थिएनन् , पढेका युवाहरुले कवाडी संकलन गरेर खालन भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग ग र्यो न त समाजमा कसैले साथ दिए । बरु हामीलाई शिक्षित युवाले फोहोर संकलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लाष्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।” धेरैले कवाडीबाट के कमाई हुन्छ र ? बरु पढेकाले राम्रो जागिर खाए हुन्छ नि भन्दै नराम्रो सोचे । तर पनि उनीहरु आफ्नो सपना र उद्देश्यमा दृढ संकल्पका साथ लागे । अन्ततः उनीहरु अहिले कम्पनीकै मालिक बन्न सफल भएका छन् । “सुरुमा गिज्याउनेहरु अहिले हाम्रो काम देखेर प्रशंसा गर्ने गर्नुहुन्छ” उमेशले भने “काम सानो ठूलो भन्ने हुँदैन, हामीले स्वच्छ सहर बनाउने अठोट लिएका छौं,त्यो सँगै धेरै थोरै आम्दानीको स्रोत समेत भएको छ । त्यसैमा हामी सन्तुष्ट छौं ।” फोहोरबाट मोहर जुटाउन थालेपछि अहिले धेरैले हाम्रो कम्पनीमा आएर अवलोकन गर्ने र घर, पसलमा भएको फोहोर बेच्न सम्पर्क गर्ने गरेको समेत उनले बताए । कवडीबाट प्राप्त भएको आम्दानीबाट उनीहरुले तानसेन नगपालिकालाई कर समेत बुझाउँदै आएका छन् ।
भण्डारी दाजुुभाइले कवाडी संकलन मात्रै होइन उनीहरु सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् । उनीहरुले जिल्लाका विभिन्न क्याम्पसहरूमा वाटर डिस्पेन्सर र प्याड भेन्डिङ् मेसिन प्रदान गर्नुको साथै जन्म, मृत्यु, विवाह जस्ता विशेष अवसरहरूमा रूख रोप्ने, विपन्नहरुका लागि ‘क्लोथ बैंक’ समेत सञ्चालन गरेका छन् । उनीहरुले प्रयोग गर्न मिल्ने लुगा संकलन गरी असहाय व्यक्तिहरूलाई निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।