Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।   

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.७५ प ७८४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक लुम्बिनी साँस्कृतिक नगरपालिका–९ का १९ वर्षीय निरज विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जनाएको छ । यस्तै रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुर चोक नजिकै सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । चपुरबाट डुमरीयातर्फ जाँदै गरेको ना. ३६ प १२०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४५ वर्षीय हरी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रामा चपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गरूडाबाट चपुरतर्फ जाँदै गरेको ना.५६ प २९८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार वृन्दावन नगरपालिका–६ हर्षाहा बस्ने ३८ वर्षीया सबिता देवीको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित सिभिल अस्पताल हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । तीन वटै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update