Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, सुर्खेत, सर्लाही, महोत्तरी र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा  परी ६ जनाको मृत्यु भएको हो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१ सण्डास्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री मृत्युु भएको छ । सुनवलबाट परासीतर्फ आउँदै गरेको लु.१८ प २९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सर्लाहीको बागमती नगरपालिका–४ जिरायत बजारस्थित सडकमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्र.३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा प्र.३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धर र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहट माधव नारायण नगरपालिका–४ बिसुनपुर्वा बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनारको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकलमा सवार २ जनाको बागमती मोडेल अस्पताल हरिवनमा उपचार भइरहेको   छ ।

यस्तै सुर्खेतको  लेकवेशी नगरपालिका–३ ब्यवारे पुलस्थित सडकमा दशरथपुरबाट लेकफर्सातर्फ जाँदै गरेको क.प्र.०२–००२ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ बस्ने २० वर्षीय समिर सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सिराहाको गोलबजार नगरपालिका–९ स्थित सडकमा चौहर्वाबाट मिर्चैयातर्फ आउँदै गरेको प्र.२–०१–००१ क ०१७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–९ गोबिन्दपुर बस्ने महोत्तरी गौशाला नगरपालिका–११ घर भएका ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता महोत्तरीको बर्दिबास नगरपालिका–८ क्वार्टर चोकमा प्र.२–०४–००१ प १४९७  नम्बरको मोटरसाइकल र प्र.२–०३–००१ च २५१७ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका–५ बस्ने ३८ वर्षीय अरूण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति: बुधबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update