
पाल्पा, नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ । गभर्नर नियुक्तिमा ढिला हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
यसअघि गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते नियमित अवकाशमा गएका थिए । त्यसपछि रिक्त रहेको गभर्नर बन्न ठूलो रस्साकस्सी भएको थियो। सामाजिक सञ्जालमा चर्को बहस हुन थालेपछि कांग्रेस सभापति देउवाले सार्वजनिकरूपमै गभर्नर नियुक्त प्रधानमन्त्रीका कारण ढिलाइ नभएको प्रस्टीकरण दिएका थिए। उनले गभर्नर कांग्रेसले पाउने सहमति भएको र राष्ट्र बैंकको आन्तरिक कारणले नियुक्तिमा ढिलाइ भएको बताएका थिए ।
गभर्नर नियुक्तिको विषयमा दुई महिनादेखि सत्तारुढ दल कांग्रेस र एमालेका निम्ति पेचिलो विषय बनेको थियो । कतिसम्म भने किचलो बढदै जाँदा चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपछि यसका दुई सदस्यले फरक–फरक समितिमा राजीनामा दिएका थिए । वैशाख ९ मा समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईद्वारा राजीनामा दिएका थिए । आफूलाई गभर्नर बन्न प्रस्ताव आएपछि वैशाख २८ मा विश्व पौडेलले समिति सदस्यबाट राजीनामा दिएका थिए । वैशाख ३१ मा अर्थमन्त्री पौडेलले सिफारिस समिति नै पुनर्गठन गठन गरेर समिति सदस्यमा पोषराज पाण्डे नियुक्त गरेका थिए । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।