Shittalpati
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार

भुवन रायमाझी
पाल्पा । लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ । गाउँपालिका भित्र विभिन्न क्षेत्रमा काम गर्ने गरी रोजगार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गतवर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानीयलाई रोजगार दिएको गाउँपालिकाले यस वर्ष वडा ८ फेकमा १ सय ५३ जना, वडा ७ पालुङ्गमैनादीमा ४१ जना, वडा ६ ठिमुरेमा ८७ जना, वडा ५ कुसुमखोलामा ४० जना र खस्यौलीमा ४० जनालाई रोजगार दिएको छ । बाँकी वडाहरुमा गाउँपालिकाले छिट्टै नै रोजगार प्रदान गर्ने तयारी थालेको छ । गाउँपालिका भित्रका वडाहरुमा बेरोगार दर्ता संकलन गरिए अनुसार घरमा कुनै पनि रोजगारीमा नगएका, एकल महिला र विपन्न परिवारलाई रोजगारी प्रदान गरिएको छ । रोजगार कार्यक्रम अन्तर्गत प्रति व्यक्तिले दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमीक पाउने छन् ।

लकडाउनका बेला समस्यामा परेका नागरिकले रोजगार पनि पाउने र पर्यटकिय क्षेत्रको विकास पनि हुने गरी स्थानीयहरुलाई रोजगारमा जोडिएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । उनले भने ‘पर्यटकिय क्षेत्रको विकास, सरसफाई तथा मर्मत सुधारलाई ध्यानमा राखेर जलेश्वर क्षेत्रको पर्यटकिय विकास गर्न कार्यक्रममा नियुक्त गरिएका स्थानीयलाई काममा लगाइएको छ ।’ दैनिक रुपमा पर्यटकिय क्षेत्रसँगै सडकको ढल सुधारलाई समेत प्राथमिकता दिएर खस्यौली र रिब्दीकोटको टावर नजिकै स्थानीयहरु मार्फत काम भईरहेको अध्यक्ष जिसीले बताए । ८ वटा वडा रहेको गाउँपालिकामा अहिले ५ वटा वडामा मात्र कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कार्यक्रमका लागि ४८ लाख बराबर रकम विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए । उनका अनुसार कृषि कार्यालय र जिल्ला वन कार्यालयसँग समन्वय गरेर गाउँपालिकाले आयमूलक र वृक्षारोपणमा समेत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नेछ । विदेशबाट आएका तथा विपन्न र श्रम गर्न चाहनेहरुलाई रोजगार कार्यक्रममा प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । बन्दाबन्दीले गर्दा काम गर्न नपाएका विपन्न परिवारका नागरिक स्थानीय तहले रोजगारी दिएपछि खुसी छन् । उनीहरुले लकडाउनले चुलो समेत बाल्न धौंधौं भएका बेला गाउँपालिकाले दिएको कामबाट घर खर्च चलाउन सहज हुने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update