
पछिल्ला केही दिन यता भारत र पाकिस्तानबिच विवाद चुलिएको छ । गत २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमलामा २५ भारतीय र एक नेपाली पर्यटकले ज्यान गुमाउनुपरेको थियो । सो घटनालाई लिएर भारतले ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तानमाथि हमला ग¥यो । पाकिस्तानले जवाफी मिसाइल हानेपछि यी दुई देश फेरि युद्धको मोर्चामा आमने–सामने हुन पुगेका छन् ।
पहलगाम आक्रमणमा पाकिस्तानीको हात रहेको किटान गर्दै भारतले आतंकवादीलाई परास्त गर्न कारवाही शुरु गरेपछि अहिले अवस्था तनाव ग्रस्त बन्न पुगेको हो । यी दुई ठूला देशबीचको युद्धको त्रास नेपालमा पनि परेको छ । दुई देशबीच युद्ध शुरु भएपछि नेपालका सबै सिमानामा भारतीय र नेपाली संयुक्त सुरक्षा गस्ती बढाइएको छ । नेपालमा रहेका दुई देशका राजदूतावासको सुरक्षा कडा पारिएको छ । दुई छिमेकी देशबीच युद्ध चर्कनु नेपालका लागि ठूलो समस्या हो । युद्धले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता सिर्जना गरेको छ । संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन् । वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् । द्धन्द्ध आफैमा विनासकारी हो । यो कसैका लागि राम्रो मानिदैन । युद्धले दुवै मुलुकको आन्तरिक राजनीति, अर्थतन्त्र र कूटनीतिक सम्बन्धमा गम्भीर असर पार्न सक्छ । युद्ध रोकिएन भने त्यसको असर दक्षिण एसिया मात्र नभई विश्वभर पर्नेछ । युद्धले निर्दोष नागरिकको ज्यान जानेछ भने दुई देशको भविष्यमा खतरा उत्पन्न हुनेछ । अझ, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताले युद्धको झन् ठूलो पीडा भोग्नुपर्छ । आर्थिक दृष्टिले पनि युद्ध विनाशकारी हुन्छ । दक्षिण एसियाका सामु अहिले जलवायु परिवर्तन, बेरोजगारी, ऊर्जा संकट र व्यापार असन्तुलन जस्ता चुनौतीका पहाड छन् । अहिलेको आवश्यकता आपसी प्रतिशोध होइन, परिपक्वता हो । राजनीतिक नेतृत्व, नागरिक समाज, बुद्धिजीवी वर्ग र सञ्चारमाध्यमले पनि युद्धको उन्माद होइन, शान्तिको शक्तिमा जोड दिनुपर्छ । भारत र पाकिस्तानका जनताको हितका लागि भएपनि दुवै देशका राजनीतिक एवं सैनिक नेतृत्व संयमित हुनु आवश्यक छ । मानव समाज, शान्ति र अर्थतन्त्रमा पर्न सक्ने दुष्प्रभाव र दीर्घकालीन असरको पूर्वआकलन गरी यथाशक्य संयम भएर युद्धलाई टारी शान्तिको बाटो खोज्ने दिशामा दुवै देश अग्रसर हुनु अहिलेको लागि उचित हुने छ । अन्यथा यसले विश्व व्यवस्थामा देखिएको शान्ति, सद्भाव र मित्रतालाई नै खल्बल्याउने खतरा पनि उत्तिकै छ । त्यसैले यो अवस्थामा अन्य शक्ति राष्ट्रहरूले पनि भारत–पाकिस्तान युद्धलाई उक्साउने होइन, यसको अन्त्यका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिन जरुरी छ ।