कृष्ण पोखरेल
पाल्पा । तानसेन गुठी काठमाडौंले तानसेनका विपन्न परिवार ज्याला मजदुरी दैनिक छाक टार्न समस्या परेका परिवारलाई राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेनका विभिन्न वडा–वडामा पुगी राहत वितरण गरेको हो ।
तानसेन नगरपालिकासंग विवरण संकलन गरी अति विपन्न परिवारहरुमा तानसेन गुठीले राहत वितरण गरेको हो । तानसेन गुठीले मंगलबार वडा ३ भगवतीटोलमा बस्ने अति विपन्न, ज्याला मजदुरी गरी खाने २० परिवारलाई राहत वितरण गरेको गुठीका कार्यवाहक अध्यक्ष शुसिल प्रधानले बताए । गुठीले दुरी कायम गर्दै वडा अध्यक्ष महेशलाल शाक्य, गुठीका पूर्व अध्यक्ष सर्जुलाल बज्राचार्यको रोहवरमा २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, एक किलो नुन, नुहाने तथा कपडा धुने साबुन, २ प्याकेट सरफ र एक प्याकेट सोयाविन सहित राहत वितरण गरेको हो ।
गुठीले यस अघि वडा ५ कैलाशनगरका १७ परिवार, तानसेन १० तेल्घाका १९ परिवार, वडा १ भुसालडाँडाका २८ परिवार, वडा ३ बसन्तपुर टक्सारका २५ परिवार, वडा ४ विशाल बजारका १२ विपन्न तथा गरिब परिवारमा राहत वितरण कार्यवाहक अध्यक्ष प्रधानले बताए । नगरपालिकाको वाकी वडाहरुका पनि राहत प्रदान गर्ने तानसेन गुठीले जनाएको छ । गुठीका केन्द्रिय अध्यक्ष सर्जुमान लिगलले काठमाडौंमा रहेका सदस्यहरुसंग सहयोग रकम उठाएर तानसेनमा राहत वितरण गरेको बताए । गुठीले तानसेन नगरपालिकाको कोरोना विपद् कोषमा एक लाख रुपैयाँ सहयोग
गरेको छ ।