Shittalpati
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ

हरेक वर्ष अप्रिल २३ को दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने गरिएको छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सवको दिन पनि हो ।

विश्वव्यापी रूपमा मनाइने यस दिवसका अवसरमा विश्वका विभिन्न देशमा पुस्तक प्रदर्शनी, पढाइ प्रतियोगिता, साहित्यिक गोष्ठी, लेखक सम्मान, कृति सम्मान, वाचन प्रतियोगिता आदि कार्यक्रमको आयोजना गरिन्छ । यसले पुराना पिंढीलाई सम्मान, युवालाई ऊर्जा तथा नयाँ पिंढीलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गरेको पाइन्छ । केही देशमा यस दिवसको दिन आ–आफूले पढेका पुस्तक एकापसमा आदान–प्रदान गरेर पढ्ने, पुराना पुस्तकसँग नयाँ पुस्तक साटफेर गर्ने, पुस्तकमा भारी छुट प्रदान गर्ने, लेखक तथा पाठक संवाद गर्ने, पुस्तक विमोचन गर्ने तथा पुस्तकालय, विद्यालय, विश्वविद्यालयहरूले विभिन्न प्रतियोगिता आयोजना गरी पर्वको रूपमा मनाएको देखिन्छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाउन लागिएको हो । लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसका रुपमा लिइएको हो । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ । यो आफैमा राम्रो पक्ष हो । सञ्चार क्षेत्रको फैलावट बढेसँगै लेखनका बारेमा हुने विभिन्न चर्चा परिचर्चा र बौद्धिक फोरमहरुले समेत पुस्तक पारखीलाई पुस्तकप्रति आकर्षित गर्ने गरेका छन् । नेपालमा दिनहुँ नयाँ नयाँ पुस्तक छापिनै रहेका हुन्छन् । तर तीनको गुणस्तर कम र लक्षित वर्ग स्पष्ट नभएका कारण पनि ती बहसमा अटाउँदैन । लेखकले नाम कमाउन मात्र लेख्ने प्रवृति पछिल्लो समय बढेको छ । गुणस्तरीय लेखनीमा जोड दिन पाठक र बौद्धिक वर्गले लेखकलाई दबाव दिन सक्ने समय पनि हो आज । त्यसैले दिवसलाई दिवसकै रुपमा मनाउने भन्दा पनि गहन अध्ययन र हरेक दिनका बहस र विचारहरुलाई महत्वका साथ लिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update