
पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहन बढ्दै गएको छ । जसका कारण प्राकृतिक विपत्ति समेत बढ्दो छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी परेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ । नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ । प्रदुषणको जटिलताले गर्दा मानिसलगायत प्राणीजगत विभिन्न क्षेत्रका सिकार भइरहेका छन् ।
हामी बाँचेको पृथ्वीको हावापानी अघिल्लो पुस्ताले भोगेको भन्दा फरक छ । २५ वर्ष पहिले जस्तो विश्व अहिले छैन् । यस्तै अवस्था रहँदा आगामी पुस्ता त के युवा पुस्ताले नै अहिले भोगेको भन्दा भिन्न हावापानी भएको पृथ्वी पाउने छन् । जलवायु परिवर्तनका कारण सधैं हिउँले भरिएर टल्कने हिमाल काला बन्दैछन् । कयौं हिमनदीले आफ्नो भौगोलिक गति र स्थान फेरबदल गरिरहेका छन् । फुट्न लागेका र फुटेर लोप भएका हिमनदीको तथ्यांक बढ्दैछ । जलवायु परिवर्तनले समुद्र तटदेखि हिमालको चुचुरासम्मलाई आफ्नो प्रभाव क्षेत्रका रूपमा ताण्डव मचाएको छ । तर पृथ्वीको संरक्षण गर्ने दिशामा कसैको पनि ध्यान जान सकेको छैन । पृथ्वीको संरक्षण र पुनस्थापित गर्ने उद्देश्य राखेर हरेक वर्ष विश्व पृथ्वी दिवस मनाउने गरिन्छ । सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । सोही दिनदेखि यो दिवस मनाउन थालिएको हो । तर हरेक वर्ष यो दिवस मनाइने गरिए पनि पृथ्वी जोगाउने कुरामा कसैले पनि चिन्ता व्यक्त गरेको पाइँदैन । यो विडम्वनाको कुरा हो । पृथ्वीको विनाश हुनु भनेको मानव लगायत सम्पूर्ण प्राणी जगतको विनाश हुनु हो । जथाभावी रुख विरुवा काटिनाले नदीनालाको छेउ किनारबाट वालुवा, ढुंगा, गिट्टी उत्खनन् गरिनाले, जथाभावी गाउँ–गाउँमा मोटरबाटो र डोजर आतंक गरिनाले अव्यवस्थित रुपमा बस्ती बस्नाले, अधिकमात्रामा थोत्रा सवारीसाधनको प्रयोग, अस्वस्थ्य औद्योगिकिकरण आदिले गर्दा पृथ्वी विनास हुँदै गएको छ । यसप्रति सबैले चिन्तन गर्नु आवश्यक छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवातका लागि जङ्गल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपायको खोजि गरिनुपर्छ । यसो गर्न सकियो भने मात्र पृथ्वी जोगाउन सकिन्छ । तसर्थ यसतर्फ सबै पक्षले ध्यान दिन जरुरी छ ।