
उजिरसिंह थापा र पाल्पा आगमनः पिता नयनसिंह थापा र माता रणकुमारीका जेष्ठ सुपुत्र उजिरसिंह थापाको जन्म वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको हो । पिताको निधन भएसँगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेनले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, वारा र पर्सा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरे वापत सानै उमेरमा यिनले कर्णेलको पदवी पाएका थिए ।
पाल्पा राज्यलाई नेपाल अधिराज्यमा विलय गराउने पाल्पाका तैनाथवाला अमरसिंह थापाको देहान्तपछि उनकै नाति उजिरसिंह थापा पाल्पाको तैनाथवाला भई वि.सं १८७१ आश्विनमा पाल्पा आएका थिए । १९ वर्षकै कलिलो उमेर भएता पनि उनी छलियुद्धमा निपूर्ण र कार्यसम्पादनमा कुशल थिए । दश वर्षसम्म पाल्पा गौंडाको अख्तियारी समाल्दै वि.सं १८७१ मंसिरमा उनको देहान्त भयो । उनीपछि भीमसेनका भाइ बख्तारसिंह थापा पाल्पा गौंडाको प्रशासक भएर आए ।
अमरसिंह थापाद्वारा युद्धको उद्घाटन : वि.सं १८७१ देखि नेपाल अंग्रेजबिच युद्ध शुरु भयो । अंग्रेजहरु जुन माध्यमबाट भएपनि नेपाल प्रवेश गर्न खोज्नु नै युद्धको प्रमुख कारण थियो । हिन्दुस्तान अंग्रेजको अधिनमा रहेको र त्यहाँ गर्मी बढी हुने भएकाले उनीहरु पहाडी मुलुक नेपाललाई कब्जामा लिन चाहानुको साथै तिब्बतसँग व्यापार सञ्चालन गर्न चाहन्थे । उनीहरुले एकैपटक नेपाललाई मकवानपुर, देहरादुन, लुढियान र बुटवलसहित चार क्षेत्रबाट आक्रमण गर्ने तयारीमा थिए । नेपालको तर्फबाट सकेसम्म युद्ध नगर्ने प्रयास गरिएता पनि अन्ततः वि.सं १८७१ वैशाख १० गते अंग्रेजले आक्रमण गरी बुटवल क्षेत्रलाई कब्जामा लियो । पाल्पाका तत्कालीन तैनाथवाला अमरसिंह थापाले शक्ति सञ्चय गरी प्रत्याक्रमण गरी अंग्रेजहरुलाई बुटबलबाट गोरखपुरतर्फ धपाए । यसरी अमरसिंह थापाले पाल्पा गौडाबाट नेपालका लागि अंग्रेजमाथि विजयको समुद्घाटन गरेका थिए । युद्धको तयारीमा जुट्दाजुट्दै वि.सं. १८७१ असोजमै उनको देहान्त भयो ।
उजिरसिंह– अंग्रेज युद्ध: अंग्रेजहरुको हार भएपछि मेजर जनरल सुलिभान उड फेरि बुटवल हुँदै पाल्पा आक्रमण गर्ने योजनामा थिए । पाल्पाबाट पलायन भएका युवराज रत्न सेन, कनकनिधि, गुरु पुरोहित भाइ भारदारहरु समेतले गुमेको पाल्पा राज्य फिर्ता पाइन्छ कि भनेर अंग्रेजलाई सुराकि दिइरहन्थे । जनरल उडले २६ कम्पनी सैनिकहरु सहित बुटवल आक्रमण गर्ने योजनामा थिए, उनीहरुले पाल्पालाई कब्जामा लिई काठमाडौंसँग सम्पर्क विहिन बनाउने सोचमा थिए । उनीहरु आधुनिक हातहतियारले सुसज्जित थिए । उनीहरु अनेक हतकण्डा मच्चाउँदै बुटवल क्षेत्र आइपुगे । आफ्ना सैनिक पहाडी इलाकामै रहने, तत्काल कुनै पनि प्रतिक्रिया नदिने र छलियुद्ध गर्ने उजिरसिंहको नीति थियो । उनीसँंग ३ हजार जति सेनाहरु थिए । कनकनिधिको गलत सूचना संप्रेषणको कारण अंग्रेजहरु नुवाकोटगढी छाडेर जितगढीतर्फ लागे जहाँ उजिरसिंहले अंग्रेजहरुलाई लज्जाजनक रुपमा हराए । अंग्रेज सेनापति मेजर जनरल उडको छातिमा समेत मट्या·ाले लागि चोट पुग्न गयो । अंग्रेज सेनाको ठूलो क्षति भयो उनीहरु हातहतियार छाडेर ज्यान बचाएर भागे । अंग्रेजतर्फ ५ अफिसर र २८ सिपाहीको मृत्यु भयो भने नेपाली सेनाहरु करिब ७० जना जति मारिए । उजिरसिंहका निकटम सहयोगीहरु सरदार सूर्यबहादुर थापा, कुभ्मेदान कृपासुर थापा समेतले वीरगति प्राप्त गरे । “संसारलाई जित्ने अंग्रेज, अंग्रेजलाई जित्ने हामी पाल्पाली नेपाली, भगवती माताकी जय” भन्दै नेपालीहरुले जितगढीमा विजयोत्सव मनाए । नेपालको पश्चिमी क्षेत्रका नालापानी, जैथक र देउथलमा भएका युछहरुमा अंग्रेजहरु विजयी भएता पनि जितगढीको युद्धमा नराम्ररी पराजित भए । वि.स. १८७२ वैशाख ७ गते अंग्रेज सेना पुनः बुटवल हान्ने तयारीमा खस्यौली आइपुग्यो । उनीहरुसँग २४ कम्पनी फौज थियो र दुईसय जति घोडचढी फौज थिए । दुईवटा अठार पाउण्डर गन र चारवटा मोर्टार थिए । अंग्रेजी फौजले खस्यौलीमा गोला वर्षा गरी बुटवल दरवार ध्वस्त पारुञ्जेलसम्म पनि नेपाली फौज चुप लागेर बस्यो । कुनै प्रतिक्रिया नआएकाले अंग्रेजहरु निर्धक्क तिनाउ नदी तरेर पारी जितगढीतर्फ जान लाग्दा पहाडमा लुकि बसेका उजिरसिंह सहितका बीर नेपाली सेनाहरुले छल र हान रणनीति अपनाएर अंग्रेज सेनालाई भगाएरै छाडे । यसरी दोश्रो पटक समेत उजिरसिंहले अंग्रेजसँगको युद्ध जिते ।
सम्भाव्य तेश्रो युद्धको त्रासदि र युद्ध जित्नुको कारण : दुई/दुई पटक अंग्रेजलाई परास्त गरेता पनि नेपाली सेनामा फेरी पनि युद्ध हुन्छ कि भन्ने त्रासदी कायमै रहन गयो । किनकि ठूलो संख्यामा रहेका अंग्रेजहरुलाई छलकपट र भयको आधारमा लखेटेर पठाइएको हो भन्ने कुरा उजिर सिंहलाई प्रष्टै थाहा थियो । उनी दोभान क्षेत्रमा अखडा जमाएर पूर्व तयारीका साथ बसेका थिए । नेपाल र अंग्रेजबिच सुगौली सन्धि भएपछि सम्पूर्ण युद्धको समाप्ति भयो । बुटवललाई कब्जामा लिएता पनि पहाडी लडाइको ज्ञान तथा अनुभव नहुनु, कनकनिधि र जनरल उड बिचको आक्रमण सम्बन्धी योजनामा मेल नखानु, उजिरसिंहको युवा जोश र युद्धकलालाई अंग्रेजहरुले सही आंकलन गर्न नसक्नुको करणले नै अंग्रेजहरुको हार र नेपालीहरुको जित भएको थियो । यस्का साथै पाल्पा तानसेनस्थित भगवती माताको आशिर्वाद प्राप्त भएकोले समेत युद्ध जितिएको भन्ने उजिरसिंहलाई पूर्ण विश्वास थियो । अंग्रेजहरुको झण्डै दुईवर्षसम्मको युद्धमा नेपालले हार व्यहोर्नु परेको भएतापनि पाल्पा तथा पाल्पाली समेतको यस विजयले नेपाली गौरवलाई सदियाँसम्म जिवन्त र वीर गोर्खाली भनी नाम राख्न ऐतिहासिक रुपमै मद्दत गरेको छ ।
भगवती जात्राको शुभारम्भ : नेपालमा विशेषतः वार्षिक रुपमा श्रावण–भाद्र महिनामा जात्रा मनाउने चलन छ । गाईजात्रा, रोपाईजात्रा, बाघजात्रा पाल्पा तानसेनका प्रचलित जात्राहरु हुन् । भाद्र कृष्ण नवमीका दिन मनाइने भगवती जात्रा ऐतिहासिक राष्ट्रिय गौरव बोकेको जात्रा हो । यो जात्रा चलाउने चलन कर्णेल उजिरसिंह थापाको पालादेखि भएको हो । उजिरसिंहको बाल्यकाल काठमाडौं उपत्यकामा वित्यो । त्यहां उनले वर्षेनी इन्द्रजात्रा, कुमारीजात्रा, मचिन्द्रनाथको रथजात्रा हेर्ने अवसर पाइरहे । ती जात्राहरुबाट प्रभावित भएर नै उनले पाल्पामा पनि भगवती जात्रा मनाउने चलनको शुरुवात गराए । भगवती जात्रा मनाउँदै गरेको केही समयपछि नारायण जात्रा समेत निकाल्ने परम्परा बस्यो । यसपछि क्रमशः भीमसेन, गणेश र भैरवका जात्राहरु समेत निकालियो । सेन वंशीय राजाहरुको इष्टदेवी भगवती हुन् । भगवतीको अर्को रुप विन्धयवासिनी अर्थात् योगमाया हो । योगमाया भगवान श्रीकृष्णकी बहिनी हुन् । श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन भएको हुँदा यसैलाई ध्यानमा राखी औपचारिक रुपमा वि.सं १८७७ सालदेखि भगवती जात्रा मनाउन लागिएको हो । वि.सं १८७१ मा अंग्रेजहरुले नेपाल विरुद्ध युद्धको घोषणा गरेपछि पाल्या गौडाका तैनाथवाला उजिरसिंह थापाले भगवती मातासँंग युद्धमा विजय हुने आर्शिवाद माग गरे । युद्धमा विजयी भएमा भगवतीको ठूलो मानमनितो गर्ने, सहकारी तरवले सलामी अर्पण गर्ने, सिन्दुरे जात्रा गर्ने, कलात्मक मन्दिर निर्माण गर्ने भनि भाकल गरे । बुटवल क्षेत्रको युद्धमा दुई–दुई पटक उजिरसिंह थापाले अंग्रेजहरुलाई लडाइँ हराए । जितगढीको युद्धमा संसार जित्ने अंग्रेजहरुको पाल्पाली सेनासंग नराम्ररी पराजय भयो । उजिरसिंहको भाकल पूरा भयो र उनले रणउजिरेश्वरी भगवती माताको नामाकरण गरी विधिवत रुपमा भगवतीको पूजा अर्चना गरी हरेक वर्ष भव्य, सभ्य र दिव्य रुपमा जात्रा निकाल्ने परम्परा बसाए । कलात्मक मन्दिरमा अष्टधातुको मूर्ति प्रतिष्ठापित गरेसँगै भगवतीको नित्य पूजाका लागि पूजारीका रुपमा पाटनबाट चन्द्रमुनि बज्राचार्य र गुठी व्यवस्थापनका लागि भक्तपुरबाट सुक्तमान बौद्धाचार्यलाई तानसेनमा झिकाए । पाल्पा तानसेनको सेरोफेरोमा गुठी सञ्चालकको लागि ३१७ मुरी धान उब्जने खेतको समेत व्यवस्थापन गरिदिए । वि. सं १९९० सालको महाभुकम्पको कारण यो मन्दिर भत्किएपछि वि. सं १९९९ सालमा यसको पुनः जिर्णोद्धार भएको हो । वि. स. २०३१ सालमा ढङ्गे स्लेटको छाना लगाई दुईतले मन्दिर निर्माण भएको हो ।
भगवती जात्रा/मन्दिरको महत्व : पाल्पा तानसेनमा रहेकी रणउजिरेश्वरी भगवती शक्तिकी केन्द्र हुन् । जसलाई जगाउन वैदिक नियमपूर्वक आह्वान गर्नुपर्ने हुन्छ । संसारलाई जित्ने अंग्रेज तर अंग्रेजलाई जित्ने पाल्पाली भनेर इतिहासमा लेखिदै आएको छ । कठोर साधना, अनुशासन र आचार संहिता पालना गर्नाले सफलता मिल्दछ भन्ने सन्देश समेत यस मन्दिर र जात्राले दिएको छ । शक्ति केन्द्रहरुले पनि श्रद्धा र आदर भावसहित विश्वास गरी आराधना गर्ने संस्कार बसालेर माया र सत्यताको शिक्षा दिन खोजेको पाइन्छ । ईश्वर सर्वव्यापी छ, जब जिवित प्राणी अप्ठेरोमा पर्छन् तब त्यो पाणीले सबै कुरा विर्सी अश्य शक्तिसँग भावनात्मक सम्बन्ध राखि प्रार्थना गर्छन् र भाकल पूरा गर्छन् । आराधना गर्नेकै अगाडि दैवीशक्ति उपस्थित हुन्छ भन्ने सत्य तथ्य उजिरसिंह भगवती मन्दिर÷जात्राबाट प्रमाणित हुन्छ । नेपाली तले शैलीमा निर्मित यो मन्दिरमा उजिरसिंह थापाको उचाई बराबरकै गजूर छ । मूर्ति महिषासुर मर्दिनीको वर्णनमा आधारित रहेको छ । तान्त्रिक विधिभित्र लुकेका दार्शनिक पक्षहरु थुप्रै छन् । वास्तुकला, धातुकला र सांस्कृतिक विकासमा समेत उल्लेखनीय योगदान रहेको छ । तान्त्रिक विधिभित्र लुकेका दार्शनिक पक्षहरु थुप्रै छन् । वास्तुकला, धातुकला र सांस्कृतिक विकासमा समेत उल्लेखनीय योगदान रहेको छ । समस्त नेपाल र नेपालीको ऐतिहासिक विजयोत्वको रुपमा दुई शताब्दी अघिदेखि निरन्तर भगवतीको पूजा र जात्रा निकाल्ने परम्परा अद्यावधि रहँदै आएको छ । नेपाली सेनाद्वारा सलामी अर्पण गरेपछि सम्पूर्ण सरकारी, गैर सरकारी, संस्था अगुवाहरु एवं सम्पूर्ण सर्वसाधारण समेत भइ हरेक वर्ष अति उच्च सम्मानका साथ रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालेर बजार परिक्रमा गराईन्छ । जसले नेपालीहरुको वीर गाथा संसारभर फैलाउँदै नेपाली राष्ट्रियता र संस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
गोरखा – जितगढी पदयात्रा: जितगढीलाई राष्ट्रिय विजयोत्सवको प्रतिकको रूपमा लिइ विगतका केही वर्षदेखि नेपाली सेनाको टरुोलीले ‘गोरखा– जितगढी पदयात्रा’ कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि २०८१ चैत २८ गतेदेखि २०८२ वैशाख ७ गतेसम्म ‘तेस्रो गोरखा – जितगढी पदयात्रा’ कार्यक्रम आयोजना गरेको छ । गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रूपन्देही बुटवलको जितगढी किल्लामा पदयात्रा पुग्नेछ र बैशाख ७ गतेका दिन नेपाली सेनाले बुटवलस्थित तारादल गणलाई एक कार्यक्रमबिच विजय झण्डा हस्तान्तरण गरी विजयोत्सव सहितको पदयात्रा समापन गर्नेछ । तात्कालिन पाल्पा गौंडाभित्र पर्ने ऐतिहासिक महत्व बोकेको गढी, किल्ला, पदमार्ग,युद्धस्थल र युद्धसामग्रीहरूको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनसहित नेपाल अंग्रेज युद्ध र नेपाली सेनाको वीरासतसँग जोडिएका ऐतिहासिक दस्तावेजहरूको जगेर्नासहित नव पुस्तालाई सुसूचित गराउने उद्देश्यका साथ केही वर्ष यता बैशाख ७ गतेका दिन पारेर बुटवल उपमहानगरपालिकाले भव्य सभ्य दिव्य र नव्य रूपमा जितगढी विजयोत्सव मनाउँदै आएको छ । यसले अझ व्यापकताका साथ नियमितता र निरन्तरता पाइनै रहनु पर्दछ । परन्तु विजयोत्सव मनाउने प्रक्रियामा भने आगामी बर्षदेखि केही सुधार गर्न आवश्यक देखिएको छ । एक नागरिकको हैसियतले भन्नुपर्दा बर्तमान प्रक्रिया उल्टो भइरहेको जस्तो लागेको छ ।
नेपाल अंग्रेज युद्ध जितगढीमा भएको हो , गोरखामा भएको होइन । उजिरसिंहकरुो नेतृत्वमा रहेको पाल्पाली/गोरखाली/नेपाली सेनाले अंग्रेजमाथि दुई/दुई पटक युद्ध जितिसकेपछिको विजयोत्सव जितगढीमा मनाएका थिए र पाल्पा गौंडाको मुकाम तानसेन फर्केपछि श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर निर्माण गरी विजय र्याली सहित हरेक वर्ष भगवतीको खटयात्रा चलाउने परम्परा बसालेका थिए । यसपछिमात्र विजयोत्सवको नियमितता निरन्तरता सहितको प्रचार –प्रसार पाल्पाबाट गोरखा, काठमाण्डौं, नेपाल राष्ट्र हुँदै विश्वव्यापीकरण भएको हो । यसर्थ विजयोत्सवको समुद्घाटन हरेक वर्ष बैशाख ७ गतेको दिनमै जितगढीबाट गरिनु पर्दछ र जिगगढीबाट नै विजय र्याली सहितको पदयात्रा शुभारम्भ गरी सर्वप्रथम पाल्पा तानसेनस्थित भगवती मन्दिरको दर्शन परिक्रमा गरी स्याङ्जा र तनहुँ हुँदै गोरखा पुर्याई विजय पदयात्रा समापन गर्नुपर्दछ । यसो गरिएको खण्डमा मात्र वीरहरूका पनि वीर उजिरसिंह सहित जितगढीको युद्धमा सहभागी हुने सबै पाल्पाली/गरुोर्खाली/नेपाली सेनाको सपना साकार हुनेछ र वर्तमान समयमा नेपाली सेना सहित समस्त नेपालीको शिर ठाडो भइ छाति गर्वले फुल्नेछ । अतः ‘गोरखा – जितगढी पदयात्रा ‘कार्यक्रमलाई’ जितगढी –गोरखा पदयात्रा’ को रूपमा रूपान्तरण गरौं । (रेग्मी स्रष्टा समीक्षकका साथै पाल्पाको इतिहासको क्षेत्रमा कलम चलाउने लेखक साहित्यकार समेत हुन् )