
पाल्पा,नयाँ वर्ष २०८२ को पहिलो दिन पाल्पाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक पर्यटकको घुँइंचो लाग्यो । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्दका लागि घुम्न आउने तथा नदीहरुमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले ति क्षेत्रहरुमा विहानैदेखि भिड लागेको थियो ।
“पहिले नै पाल्पाको श्रीनगर आउने इच्छा थियो,त्यो इच्छा बल्ल अहिले पुरा भएको छ” श्रीनगरमा भेटिएका भैरहवाका दीपेन्द्र सुनारले भने । विगतमा कार्यव्यस्तताले घुम्न नपाइएकोमा यस वर्ष भने एक हप्ता अघिदेखि नै समय मिलाएर रमाइलो र आनन्द लिन परिवारसहित श्रीनगर आएको उनको भनाई छ । “अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ”, सुनारले भने । एसियाकै ठूलो त्रिशुल रहेको भैरवस्थान मन्दिरमा परिवारसहित घुम्न पुग्नुभएका बुटवलका प्रेम रिजाल पनि नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर घुम्न आएको बताउनुभयो । “अरु समय अफिसको काममा व्यस्त भइन्छ, फुर्सद नै मिल्दैन”, उनले भने, “वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि आएको हुँ ।”
नेपालको ताजमहल र प्रेमको प्रतिकका रुपमा चिनिएको रानीमहल क्षेत्रमा पनि उत्तिकै भिड लागेको छ । साथीहरुसँगै त्यहाँका पुग्नुभएका बगनासकालीका सुशिल बस्यालले पनि नयाँ वर्षको अवसरमा घुम्न आएको बताए । उनले रानीमहलमा पुगेर आफ्ना साथीहरुलाई फेसबुक लाइभमार्फत शुभकामना सन्देश समेत दिए । “अघिल्लो वर्षमा भन्दा यसवर्ष अधिक भीड रहेको छ,” उनले भने, “घुम्ने संस्कृतिको विकास भएको हो कि भन्ने लागेको छ ।” नयाँ वर्षको पहिलो दिन सोमबार बिहानैदेखि रानीमहलमा मानिसको चहलपहल बढेको उनले बताए । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक आएका हुन् । परिवार, समुह, नवजोडीहरु यहाँका पर्यटकीय स्थलहरु पुगेका छन् । विशेष गरी तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, तेल्घा, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट रम्भादेवी, बंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रिडी, राम्दी लगायतका चर्चित पर्यटकीय तथा धार्मिकस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लागेको हो । नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरुले यहाँका पर्यटकीयस्थहरुको रौनक बेग्लै बनाएको छ ।