
वर्षा याम प्रारम्भ हुनअघि हावाहुरी, मेघगर्जन, चट्याङ पर्नु अस्वाभाविक होइनन् । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण भौतिक क्षतिका अतिरिक्त मानवीय क्षतिका भएका समाचार आइरहेका छन् ।
विहीबादेखि लागेको भिषण हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखाँची लगायत देशका अधिकांस जिल्लाहरुमा ठूलो क्षति पुर्याएको छ । केही ठाउँहरुमा भौतिक क्षति भएको छ भने केही ठाउँमा मानवीय क्षति भएको पाइन्छ । पानीसहित आएको हावाहुरीले मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । यसले नेपालको कमजोर विपद् व्यवस्थापनको पक्षलाई फेरि उदांगो बनाइदिएको छ । यो घटना नेपालका लागि धेरै अपेक्षित थिएन नै, यसको सम्भावना ज्वालामुखीको जस्तो शून्य पनि थिएन । सम्बन्धित सरकारी निकाय र प्रविधि निम्त्याउन सक्ने अन्तर्राष्ट्रिय संघ–संस्थाले यस्तो परिस्थितिको कत्ति पनि आकलन गर्न नसक्नु अनि हावाहुरीको प्रकोप अनुमान गर्ने प्रविधि नेपालमा छँदै छैन भन्ने सरकारी निकायको कथनबाट हामी विपद् जोखिम न्यूनीकरणको मामिलामा कति निरीह छौँ भन्ने प्रस्ट्याइसकेको छ । सम्भावित सबै खाले प्रकोपको मूल्यांकन नै गर्न नसकिने जस्तो देखिएको अहिलेको नेपालको अवस्थामा जोखिम न्यूनीकरण गर्न सकिने आधारै अति कमजोर भएको प्रस्ट छ ।
उन्नत विज्ञान प्रविधिको यो युगमा हावाहुरीका कारण भौतिक र मानवीय क्षति हुनु भनेको आफैँमा विडम्बनापूर्ण घटना हुन् । यस्ता घटना भविष्यमा दोहरिन नदिन सरकार तथा सर्वसाधारणले समेत सजगता तथा सावधानी अपनाउनु जरुरी छ । मौसम भविष्यवाणीका क्षेत्रमा विज्ञानले गरेको विकासको सदुपयोग गर्दै हावाहुरीजस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वजानकारी विभिन्न माध्यमबाट सार्वजनिक गर्न सम्बद्ध पक्षले अग्रसरता लिनु वाञ्छनीय हुन्छ । यसर्थ हावाहुरीबाट बच्न तथा यस्तो समयमा बाहिर ननिस्किने र घरभित्रै बस्ने गरौं । सरकारले पनि विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन जरुरी छ ।