
विष्णु पाण्डेय
पाल्पा । बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, भौतिक बिज्ञान तथा लेखा विषयमा रेडियोले दैनिक ४ घण्टा पठन–पाठन गर्दै आएको थियो ।
रेडियोमार्फत अध्यापन गराउदै आएका शिक्षकहरु तिलक सापकोटा, कमलराज बस्याल, देवराज शर्मा, प्रमोद ज्ञवालीलाई कदर पत्रले सम्मान गर्दैै विदाई गरिएको रेडियो सञ्चालक समितिका अध्यक्ष जगदीश भट्टराईले जानकारी दिए । उनीहरुलाई तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रेडियोका अध्यक्ष भट्टराईले कदर पत्रले सम्मान गरेका थिए ।
सम्मान गर्दै नगर प्रमुख शाहीले ट्युसन अनईएरले देशभरिनै आकर्षण पैदा गरेको बताए । उनले महामारी र बन्दाबन्दीका बेला युनिक एफएमले ल्याएको यो सिर्जनशील कार्यक्रमले माध्यमिक तहका विद्यार्थीहरुलाई धेरै ठूलो सहयोग पुगेको धारणा व्यक्त गरे । रेडियोका अध्यक्ष भट्टराइले ट्युसन अनइएर संकटका बेलामा विद्यार्थीको सारथी बनेको बताए ।
साथै उनले ट्युसन अनईएर कक्षा सञ्चानका निमित्त नगरपालिको देखाएको सदासयतालाई धन्यवाद दिदै विद्यार्थीहरुले युट्युवमा गएर युनिक एफएम सर्च गरेर पनि सुन्न सक्ने बताए । ट्युसन कार्यक्रम इभरग्रिन एजुकेशन कन्सल्टेनसी (इइसी)को शिक्षक व्यवस्थापनमा चलेको थियो । तानसेन नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएको ट्युसन अनइएर रेडियो कार्यक्रम अत्यन्त प्रभावकारी भएको विद्यार्थीहरुले बताएका छन् ।
रेडियोले हरेक दिन विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म दुरशिक्षा रेडियो कार्यक्रम ट्युसन अनइएर प्रसारण गरेको थियो । विदाई कार्यक्रम रेडियोका विष्णु खनालले सञ्चालन गरेका थिए ।