Shittalpati
स्वास्थ्य दिवसको सार्थकता

नेपालसहित विश्वर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । मानव शरीर स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । यद्यपी दिवस हरेक वर्ष हरेक पटक मनाउने गरेपनि नेपालको स्वास्थ्य सेवा आम नागरिकका नजरमा आफैँ पूर्णरूपमा स्वस्थ बन्न भने सकेको छैन । यो अत्यन्त दुखको कुरा हो ।

नेपालको स्वास्थ्य सेवालाई अस्वस्थ बनाउनमा विभिन्न कारकहरू जिम्मेवार रहेका देखिन्छन् । संविधानतः आधारभूत स्वास्थ्य सेवा आम नागरिकको मौलिक हक भएको र आधारभूत स्वास्थ्य सेवामा राज्यले गरिरहेको लगानी वर्षेनी बढ्दो क्रममा रहेको भए पनि अझसम्म सेवाको सुनिश्चितता हुनसकेको छैन । एकातिर निःशुल्क स्वास्थ्य सेवामा राज्यको लगानी धानी नसक्नु हिसाबले बढिरहेको छ भने अर्कोतिर, आम नागरिकहरू सहरकेन्द्रित र महँगो उपचार पद्धतिका कारण प्रताडित भइरहेका मात्र हैन सेवाको उपभोग गर्नबाटै वञ्चित भइरहेका समेत छन् । विशेषज्ञ चिकित्सकहरू सहरमुखी भएका कारण अहिलेको समयमा पनि ग्रामीण जनताहरूले कष्ट व्योहोर्नुपरिरहेको छ । हरेक स्थानीय तहमा चिकित्सक र हरेक जिल्लामा विशेषज्ञ चिकित्सक पु¥याउने भनिए पनि यो व्यवस्थाको व्यावहारिक रूपान्तरण हुनसकेको छैन । वर्तमान समयमा खराब र अस्वस्थकर जीवनशैली र खानपानले शरीरमा विभिन्न रोग देखापर्ने गरेका छन् । स्वस्थ शरीरले मात्रा हामी सुन्दर जीवनको परिकल्पना गर्न सक्छौं । त्यसका लागि व्यक्ति स्वयमले समेत स्वास्थ्यलाई कस्तो राख्ने भन्ने कुरा आफैमा निर्भर रहन्छ । मानिसले शरिरलाई स्वस्थ राख्न सन्तुलित आहार, व्यायम र सकरात्मक सोंच राख्न आवश्यक छ । मानिसको जीवन–मरणसँग सरोकारित विषय भएकोले राज्यबाट नागरिकलाई आवश्यकता परेको जुनसुकै बखत सहज र निर्वाधरूपमा सेवा प्राप्तिको पहुँच र स्वस्थ जीवनशैलीप्रतिको सचेतता वृद्धि गर्न सके मात्र हरेक वर्ष मनाइने विश्व स्वास्थ्य दिवसले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update