Shittalpati
रामपुरका सहकारीलाई सुशासन सम्बन्धी अभिमुखीकरण

पाल्पा, जिल्लाको रामपुर क्षेत्रभित्र रहेका सहकारीहरुलाई सुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । पछिल्लो समय सहकारीहरुमा सुशासनको परिपालन नहुँदा देशका केही सहकारी संस्थाहरुमा समस्या उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले यहाँका सहकारीहरुलाई एक दिने  अभिमुखीकरण कार्यक्रम गरेको हो ।

सहकारीका सञ्चालक समिति र कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कार्यक्रमको उट्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताए । ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्या देखिएको भन्दै थापाले विशेष ख्याल गरेर जुन उद्देश्यका लागि ऋण प्रदान गरिएको हो सोही अनुसार अनुगमन गर्नु आवश्यक रहेको औल्याए । बजार क्षेत्रमा सिमित व्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या देखिएकाले अन्य स्थानका सहकारीलाई समेत असर गरेको नगर प्रमुुख थापाको भनाई छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक र सहकारीबिचको फरक के हो ? भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताए ।

सहकारीको विकल्प सहकारी नै भएको बताउँदै राज्यले व्यवस्था गरेको नीति नियममा रहेर सुशासन कायम गर्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने उनको भनाई छ । सरकारले जारी गरेको ऐन लागू भएमा सहकारी भित्रको विकृति अन्त्य हुने  ढकालले बताए । पछिल्लो पटक भएको सहकारी ऐन तथा प्रतिस्थान विद्येयक सहकारीको विकासको पक्षमा रहेको उनले स्पष्ट पारे । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार  सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताइन् । नगर भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल गर्दै आएको उनको भनाई छ । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारीहरुलाई संघमा आवद्ध हुन आग्रह समेत गरे ।

कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दाहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधन सहितको सहकारी ऐन, प्रतिष्ठापन विद्येयक लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । नेपाल बचत तथा ऋण सहकारी संघ केन्द्र  र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोग, जिल्ला बचत तथा ऋण सहकारी संघ, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम  गरिएको हो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता, संघका सचिव तथा जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागत, अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाको धन्यवाद ज्ञापन, महासचिव बसन्त प्रसाद ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update