Shittalpati
‘तानसेन सम्पदा संरक्षण समाज’ र यसको दायित्व

पदम न्यौपाने

जहाँ सार्वजनिक सम्पदाहरुलाई सार्वजनिक सम्पति मानेर संरक्षण र सम्वद्र्धन गरिन्छ त्यहाँ सार्वजनिक पहिचान एवं समृद्धिको मार्ग खुलेको देखिन्छ । कतिपय जिल्लाहरुले त आफ्ना सम्पदा नभएमा अन्य जिल्ला वा स्थानसँगको सहकार्यमा संरक्षण, सम्वद्र्धन गर्दै व्यवहारिक उपयोग गरेर आफ्नो जिल्लाको पहिचान बनाएका पनि देखिन्छन् । यसैगरी सार्वजनिक सम्पदाहरुको संरक्षणमा नागरिकस्तरको चासो सरोकार र संरक्षणमा स्थानीय सरकारसँग साझेदरी गरिएका छन्,त्यहाँको समृद्धि इतिहास, संस्कृति र प्रकृतिको समन्वयमा पहिचानात्मक रुपमा भएका छन् ।

तानसेनमा रहेका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि नगर भित्र बसोवास गर्ने नगरवासीहरुको भेलाले तानसेन सम्पदा संरक्षण संघ गठनका लागि आयोजित नागरिक स्तरिय भेलामा झण्डै ५० जनाको उपस्थितिमा तानसेनमा पहिलो पटक सम्पदा संरक्षण समाज गठन गरिएको छ । विशेषगरी तानसेन बजारमा रहेका त्यस्ता सम्पदाहरुको महत्वका बारेमा कमजोर बुझाइका कारण दिनानुदिन सम्पदाहरुको महत्वमा ह्रास आइरहेको छ । यो कार्यले भविष्यमा तानसेनको पहिचान नै फेरिने अन्दाज गर्न सकिन्छ । यसका लागि स्थानीय सरकारको सम्वेदनशिलता देखिनु पर्छ भने नगरवासीहरुको चासो र सरोकार रहन जरुरी छ । आफ्नै घर आगन र आफ्नै संस्कार र संस्कृतिमा चासो रहन नसक्दा भविष्य कस्तो होला यो पनि अन्दाज गर्न सकिन्छ । हरेक नागरिकले आफूले बनाउन नसके पनि आफ्ना पूर्खाले बनाएका र स्थापित गरिदिएका संरचना एव. संरचना सम्वद्ध मूल्य र मान्यताको रक्षा गर्दै अहिलेको आवश्यकता अनुरुप व्यवहारिक तालमेल मिलाउदै जान सकेको खण्डमा सामाजिक पहिचान र सामाजिक आर्थिक रुपान्तरणमा समेत योगदान हुन सक्ने तथ्यलाई विर्सन सकिदैन ।गठित समाजले नागरिकबिच चेतना जगाउदै सम्पदा संरक्षणमा जागरुक बनाउन जरुरी छ भने सम्वद्ध निकायहरु स्थानीय सरकार,गूठी संस्थान र संस्कृति मन्त्रालय एवं पुरातत्व विभागसँग समन्वय गरी भएका संरचनाको अवस्थाका बारेमा जानकारी गराउने, कार्यक्रमको जानकारी लिने, सरक्षण , सम्वद्र्धन नीतिको बारेमा खोजी गर्ने र नगरवासीलाई सो बारे जानकारी गराउने गर्न जरुरी छ ।

समाजले सम्पदाहरुको पूर्ण अभिलेख राख्ने, स्थानीय सरकारलाई सो गर्न प्रेरित गर्ने, स्थानीयसँग समय–समयमा अन्तक्र्रिया गराई सम्पदा र नागरिक एवं स्थानीय सरकारबिच सम्पदा सम्बन्ध स्थापित गर्न पहल गर्न जरुरी छ । कही कतै सम्पदा अतिक्रमण भएको खण्डमा सोको जानकारी स्थानीय सरकार र सम्वद्ध निकायहरुलाई गराउन आवश्यक छ । सार्वजनिक सम्पदा सामाजिक सम्पति हुन् । यस्ता सम्पतिले सामाजिक सम्वृद्धिको पहिचान प्रदर्शन गर्दछन् । यसर्थ भत्किन नदिने र भत्काउन नदिने,लोप हुन नदिने कार्य नै अहिलेको तानसेनको पहिलो आवश्यकता हो । तानसेन बजारलाई विश्वसम्पदा रहेको बजारको सम्भावित सूचिमा रहेको क्षेत्र हो । यति मात्र होइन यो मध्ययूगिन बजारको ज्वलन्त उदाहरण पनि हो । यो सहरकोे निर्माण र संरचना हेर्दा साना र सांगुरा गल्लीहरु, कलात्मक झ्याल ढोकाहरु, सहरको केन्द्रमा व्यापारिक बजार, पहाडी क्षेत्रको स्वरुप अनुरुपको बजार विकास, बिचमा प्रशासनिक केन्द्र र त्यसको केन्द्रमा दरबार र परिसर, र यसैको वरीपरी आवश्यक बस्तुहरुको व्यापार गर्ने थलो भएको बजार तानसेन हो । धर्म संस्कृतिका हिसावले बिचभागमा भगवती मन्दिर, नारायण मन्दिर, गणेश मन्दिर जस्ता मठमन्दिर रहेको स्वरुपलाई मध्ययुगिन शहर वा बजारको विशेषता मानिन्छ ।

आधुनिक युगमा पनि शहर बजारको विशेषताका रुपमा त्यही वास्तुकला र वास्तुशास्त्र अनुसारको शहरी विकास अवधारणा अवलम्वन गर्ने गरिन्छ । भएका संरचना वा सम्पदाहरुलाई संरक्षण गर्न पहिलो प्राथमिकतामा राख्ने पनि गरिन्छ । यसर्थ तानसेनले प्राप्त गरेका यी सम्पदा, बजारको यो स्वरुप र  विशेषतालाई संरक्षण सम्वद्र्धन गर्ने खालको निती र कार्यक्रम हुनुपर्दछ । नकी हाम्रा सोच र कदमहरु यसलाई असर गर्ने स्वरुप र पहिचान मेटीने नहोस् भन्नेतर्फ सचेत बन्न जरुरी छ । यो सचेतता प्रथमतः नगरवासीमा हुनु पर्दछ र स्थानीय सरकार एवं सम्वद्ध क्षेत्रलाई त्यसतर्फ ध्यानकेन्द्रित गर्न अनुरोध र दवाब पनि दिनु कर्तव्य हुन आउछ ।

अब हेरौ मध्ययुगीन सहरका केही विशेषता र तानसेन बजार :

माथी उल्लेख गरिएका मध्ययुगीन सहरका विशेष विशेषताहरुका सन्दर्भमा तानसेनको बजार सम्बन्ध कुन हद् सम्मको रहेछ भन्नका लागि निम्न तरिकाबाट सहजरुपले बुझ्न सकिन्छ ।

१) पुर्खाले निर्माण गरेका हिजोका पुराना सहर बजारको विकास गर्दा सुरक्षा रणनीति अनुरुपका संरचना निर्माण हुनु –माटो र ढुगाको पर्खाल हुनु, मुख्य प्रशासनिक केन्द्र प्रवेश ढोकाबाट प्रशासनिक भवनमा प्रवेश हुनु, वा प्रवेश नियन्त्रणात्मक ढंगले निर्माण गरिनु । तानसेन दरबार र परिसर निर्माण यसै अनुरुप गरिएको छ । 
२) वास्तुकला र वास्तु शास्त्रका हिसावले निर्माण हुनु, बजारको बिचमा केन्द्र र वरीपरी वस्ती र  बिचभागमा संरचना अनि बजारको व्यवस्था गरिनु ।
३) साना गल्ली र बाटोहरु केन्द्रलाई जोड्दै निर्माण गरिनु ।
४ सामाजिक र आर्थिक क्षेत्रहरु ऋलग–अलग स्थानमा व्यवस्था गरिनु, जोडिएका घर, एउटै प्रकृति र शैली द्धारा निर्माण गरिएका ।
५) सामुदायिक भावना र पहल एवं प्रवद्र्धनात्मक हिसावले र सम्भाव्य सबै आवश्यकता आपूर्तिको व्यवस्था गर्ने गरी समूहगत       पहिचानका लागि सामाजिक संरचनाको व्यवस्थापन गरिनु ।
६) सहरमा धार्मिक र आध्यात्मिक संस्था, शैक्षिक स्थल, खेलमैदान,बगैचा र सार्वजनिक स्थलहरुको व्यवस्था गरिनु ।
७) व्यापार व्यवसायमा निजि क्षेत्रको प्रवेश गराउनु । व्यापार र यसै सम्वद्ध विविध आवश्यकता पूर्तिका लागि बाहिर जिल्लाबाट भए   पनि आवश्यकता अनुरुपका व्यापार वा आपूर्ति प्रणालीको व्यवस्थाको व्यवस्थापन गर्नु र हाटबजार र प्रदर्शनी व्यवस्था मिलाउनु ।  
८) सार्वजनिक स्थलको व्यवस्था गर्नु, संरचना निर्माणमा यस्ता पक्षमा गम्भीर देखिनु र कानूनी व्यवस्था मिलाउनु ।
९) खानेपानी र सरसफाइको चुनौती सामना गर्ने गरी दीगो उपाय खोजी गर्नु , नयाँ प्रविधि अवलम्वन गर्नु ।
१०) बसोवास संयुक्त परिवारमा रहनु र यसबाट विशेष प्रकारको पारिवारिक व्यवस्थापन पद्धतीको अवलम्वन गर्नु । 
११) आवश्यक कलेज, विद्यालय पुस्तकालय र धार्मिक मठमन्दिरहरु नजिकै र सहजताका हिसावले व्यवस्था मिलाउनु ।
१२) सैनिक उपस्थिति र सहरी बासिन्दाको सम्बन्ध सुमधुर बन्ने रणनीति अवलम्वन गर्नु ।

उल्लेखित विशेषताहरुलाई केन्द्रमा राखेर हेर्ने हो भने तानसेन बजारको विशेषता प्राचिन वा मध्ययुगिन संस्कृति, कला, सम्वद्ध सांस्कृतिक सम्पदा र संरचना भएको र यही विशेषताले तानसेनलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सकिने बलिया आधारहरु भएका कारण अब तानसेनले यसबारेमा गाम्र्भीयता प्रदर्शन गर्नु पर्दछ । साथै तानसेनको गाम्र्भीयतामा भर पर्दछ  तानसेनमा पर्यटन विकास पनि । इतिहासले ८औं देखी १८ औं शताव्दी सम्मको  अवधिलाई मध्ययुगीन इतिहास भनिन्छ र यही अवधिका सहर, संस्कृति ,संरचना एवं इतिहास संम्वद्ध सम्पदाहरुलाई निकै महत्वका साथ लिने गरिएको छ । यसै अवधिमा व्यवस्थित बस्ती विकास, सहर र जीवनपद्धतीको विकास भएको मानिन्छ । यी अवधिका सामाजिक संरचना, आर्थिक क्रियाकलाप र पद्धती, राजनीतिक संयन्त्र र शासनपद्धती, साँस्कृतिक प्रचलन र पूर्वाधारहरु अहिलेको आधुनिक समाजका लागि निकै महत्वपूर्ण सम्पति बनेका छन् । तानसेन बजार पनि यही समयमा विकास भएको देखिन्छ । तानसेन ऐतिहासिक बजार हो यो साँस्कृतिक र वास्तुकलाले धनी छ । यो त्यो समय देखिनै व्यापारको केन्द्र, संस्कृति र सिल्पकलाहरुले मध्ययुगकाालिन सहरको रुपमा परिचित र स्थापित भएको देखिन्छ । पुरानो थलो, पुराना मन्दिरहरु, नेवारी वास्तुकलाले मध्यकालिन सहरको रुपको प्रतिनिधित्व गर्दछ । उल्लेखित विशेषता सांस्कृतिक हिसावले निकै समृद्ध र वजनदार मानिन्छ । नवगठीत यस समाजले अबको सोही अनुरुपमो छलफल र कार्यक्रम तय गर्न जरुरी देखिन्छ ।

समाजले प्रथम चरणमा वडा नं २,३,४ र ६मा भएका सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकारको पहल र वडावासीबिच छलफल र अन्तक्र्रिया गराउने कार्यलाई प्रमुख रुपमा लिन आवश्यक छ । नगरपालिकासँग सम्पदा(भौतिक र अभौतिक) को संरक्षण, प्रवद्र्धन गर्दै सामाजिक आर्थिक रुपान्तरण र पर्यटन सम्वद्ध कार्यक्रमहरुको बारेमा जानकारी माग गर्ने कार्यको थालनी जरुरी छ । तानसेन ऐतिहासिक र सांस्कृतिक सम्पदायुक्त मध्ययूगिन सहर एवं पुतात्विक सम्पदायुक्त बजार भएकाले नगरपालिकाको विकास र संरक्षण दीगो अवधारणा, नीति र कार्यक्रमका बारेमा जानकारी लिने र नगरवासी समक्ष राख्न जरुरी छ । यसबाट नगरवासीमा पारदर्शिरुपमा नगरपालिकाको नीति स्पष्ट भै संरक्षणमा चासो र सक्रियता बढ्नेछ । नगरपालिकाले नगर भित्रका सबै प्रकृतिका सम्पदाहरुको अभिलेख राख्ने र स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यालय देखिनै सम्पदाको महत्व, संरक्षण र भविष्यका बारेमा विद्यार्थीहरुलाई जानकारी दिने प्रक्रिया अवलम्वन गर्न जरुरी भएकाले समाजले यसलाई जोड दिनु पर्दछ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयद्धारा हालै अभौतिक संम्पदाहरुको अभिलेखीकरण गर्न र दर्ता गर्न गरेको अनुरोध बमोजिम नगरपालिकाले आफ्ना अभौतिक सम्पदाहरुको तत्काल अभिलेखीकरण गर्न र दर्ता प्रक्रिया प्रारम्भ गर्न समाजले जोड दिन आवश्यक छ । दोश्रो चरणमा नगरका सबै वडाहरुमा रहेका सम्पदा संरक्षणका कार्यक्रम र चासोलाई विस्तार गर्न आवश्यक देखिन्छ ।  (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update