
रामचन्द्र रायमाझी
पाल्पा । कोभिड–१९ संक्रमण जोखिमसँगै देशभर जारी बन्दाबन्दी (लकडाउन) का कारण साना तथा ठूला विकास निर्माणका आयोजना प्रभावित भएका छन् । विकास निर्माणका काम द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि विकास निर्माणका काम ठप्प भएका हुन् । कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै जारी लकडाउनका कारण जिल्लामा सञ्चालित खानेपानीका आयोजनाहरु प्रभावित भएका छन् । ७७ दिनदेखिको बन्दाबन्दीका कारण खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्वारा सञ्चालित आयोजनाहरु प्रभावित भएका हुन् । बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा जिल्लामा सञ्चालित मध्यम, साना, ठूला गरी १६ वटा योजना यसवर्ष पूरा नहुने देखिएको छ ।
आयोजना सञ्चालनका लागि निर्माण जन्य सामग्री, कामदार एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु पर्ने भएकाले आयोजना नसकिदा करोडौं रुयैयाँ खर्च हुन नसक्ने डिभिजन कार्यालयका प्रमुख शिवकुमार श्रेष्ठले बताए । उनका अनुसार नेपाल सरकारको प्रदेश सरकार मार्फत प्राप्त बजेट मध्ये २२ करोड १ लाख ३८ हजार रुपैयाँ मात्र खर्च हुनेछ । प्रदेश सरकार मातहतका आयोजनाहरु असार मसान्तसम्म सकिने भएपनि लकडाउनका कारण योजना सम्पन्न गर्न नसकिने भएको प्रमुख श्रेष्ठले बताए । आयोजनाहरु प्रभावित भएपछि आयोजना सञ्चालन हुने क्षेत्रका एक हजार घर परिवार चिन्तित बनेका छन् ।
यस वर्ष लकडाउनका कारण तिनाउ गाउँपालिकामा कोलडाँडा खानेपानी योजना, दोभान नुवाकोट खानेपानी योजना, कचल खानेपानी योजना, मस्याम खानेपानी योजना, रैनादेवी छहरा गाउँपालिका बल्ढेङ्गढीको पहलाखोला कालिरह खानेपानी योजना, रम्भा गाउँपालिकाको हुँगीको हुँगी खानेपानी योजना, तानसेन नगरपालिकाको जोर्ते अर्तुङ्गा खानेपानी, आयोजना, माथागढी गाउँपालिकाको गोठादी पुरनपानी सात पोखरी खानेपानी योजना, झडेवा खानेपानी योजना, बगनासकाली गाउँपालिकाको दुमैखोला खानेपानी योजना, रिब्दीकोट गाउँपालिकाको अपिलधारा लिफ्ट खानेपानी योजना, पूर्वखोला गाउँपालिकाको सिलुवा लिफ्ट खानेपानी योजना, निस्दी गाउँपालिकाको बटुवा खोला खानेपानी लगायतका योजनाहरु प्रभावित हुने कार्यलयका प्राविधिक नारायणप्रसाद अर्यालले जानकारी दिए ।
लकडाउनका कारण कार्यलयले पाइप खरिदको बोलपत्र समेत रद्द गरेको छ । चालु आर्थिक वर्षमा १३ वटा योजनाहरु मात्र सम्पन्न हुने डिभिजन कार्यालयका सूचना अधिकारी मात्रिका गौतमले बताए । उनले भने ‘लामो समयको बन्दाबन्दीले चालु आर्थिक वर्षमा १३ वटा साना–ठूला ग्राभिटी लिफ्टिङ्ग योजना मात्र सकिने छन् ।’ यस वर्ष विरकोटको वलङदी खानेपानी योजना, सर्देवा खानेपानी योजना, ज्यामिरे खानेपानी योजना, चिदियार लिफ्ट खानेपानी योजना, याल्टा गैरा लिफ्ट खानेपानी योजना, काफ्लबोट योजना, दर्लाम खानेपानी आयोजना, भयामिरे घोरपाल छाप लिफ्ट खानेपानी योजना, कालीमाटी लिफ्ट खानेपानी योजना, मित्याल खानेपानी योजना सम्पन्न हुने कार्यालयले जनाएको छ ।