भुवन रायमाझी
पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा रायमाझी कुलदेवता समिति छहरा काठमाण्डौ सम्पर्क उप–समितिले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा समितिले दश हजार सहयोग गरेको हो । उक्त राहत रकम समितिका केन्द्रिय सदस्य लक्ष्मण रायमाझीले गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण गर्दै समितिका केन्द्रिय सदस्य रायमाझीले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए । उनले लामो समय देखिको बन्दाबन्दीका कारण ग्रामिण भेगमा रहेका दैनिक ज्यालादारी गररे खाने निमुखा गरिव परिवार बढी समस्यामा परेकाले उनीहरुलाई समेत राहतको उपलब्ध गराउन गाउँपालिकालाई आग्रह गरे ।
रकम ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष कार्कीले रायमाझी कूलदेवता समितिले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम आवश्यकताका आधारमा वास्तविक वर्गमा खर्च गरिने बताए । उनले विपद्को बेलामा आएको सहयोगले गाउँपालिका भित्र रहेका विपन्न परिवारको चुलो बाल्न समेत सहयोग पुग्ने विश्वास गर्दै सहयोग रकम विभेद पूर्ण तरिकाले सम्वन्धित ठाउँमा वितरण गर्ने बताए । राहत रकम प्रदान गर्ने क्रममा रायमाझी कुलदेवता समिति छहराका अध्यक्ष झलक बहादुर रायमाझी, गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।