
नवलपरासी । नवलपरासी, (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् ।
संघीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् । सुनवल नगरपालिकाले ५ सय र सुस्ता गाउँपालिकाले ४ सय ५० भिटिएम खरिद गरेका छन् । खरिद गरिएको भिटिएमलाई क्यारेन्टाइनमा बसेकाको स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइने छ । जिल्लाका अन्य स्थानीय तहले समेत भिटिएम खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् । यस जिल्लामा तीन नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तह छन् । यस जिल्लामा १५ वर्षीय किशोरीसहित १९ कोरोना संक्रमित रहेका छन् ।
चार आइसोलेशन सेन्टर
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा हालसम्म विभिन्न चार स्थानमा आइसोलेशन सेन्टर स्थापना भएका छन् । पछिल्लोपटक सुस्ता गाउँपालिकाको वेलवानीस्थित स्वास्थ्य चौकीमा १० शैयाको र रामग्राम नगरपालिकाको पाल्ही बहुमुखी क्याम्पसको भवनमा ५० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको हो । यसअघि सुनवल नगरपालिकाको सुनवलस्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा २५ शैयाको आइसोलेशन र बर्दघाटस्थित शहीदस्मृति सामुदायिक अस्पतालमा चार शैयाको आइसोलेशन रहेको छ । यद्यपि यस स्थानको आइसोलेशनको शैया क्षमता विस्तार गर्ने योजना रहेको बर्दघाट नगरपालिकाले जनाएको छ । जिल्लामा हालसम्म एकजना १५ वर्षीय किशोरीसहित १९ कोरोना संक्रमित फेला परिसकेका छन् । –रासस