Shittalpati
रामपुर सुनचाँदी व्यवसायी संघद्वारा मजदुरलाई खाद्यान्न

पाल्पा(रामपुर) । रामपुर सुनचाँदी व्यवसायी संघ रामपुरले सुनचाँदी व्यवसायमा आवद्ध मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनका कारण व्यवसाय ठप्प हुँदा काम विहिन भएका उनीहरुको सहजताको लागि संघले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो । संघको कार्यालय बेझाँडमा एक कार्यक्रम गरी ९ जना मजदुरहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न उपलब्ध गराएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा सदस्य मायाँ नेपालीले कामविहिन बनेका मजदुरहरुको लागि संघले ल्याएको कार्यक्रम निकै फलदायी हुने बताईन् । सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर बासुदेव ढकाल र पत्रकार इमान सिं रानाले महामारीको जोखिम बढ्दै जाँदा सरकार राहत भन्दा पनि क्वारेन्टाइन र आईसोलेशन व्यवस्थापनमा केन्द्रित हुनु परेकाले यस अवस्थामा संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

संघले अन्य स्थानबाट आएर रामपुरमा कार्यरत रहेका कालीगढहरुको लागि २५ केजी चामल, १ लिटर तेल, २ केजी दाल र २ केजी नुन प्रदान गरेको रामपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष अर्जुन सुनारले जानकारी दिए । संघका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा भएको खाद्यान्न विचरण कार्यक्रमको सञ्चालन श्याम बहादुर विकले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update