
पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ।संसारभरकै हिमालयन क्षेत्रहरु भूकम्पीय जोखिमको खतरामा रहन्छन्, त्यसमा अझ नेपाल भारत र युरेशियन प्लेटको सिमानामा अवस्थित भएकाले बढी जोखिममा छ ।
भविष्यमा पुनः ठूलो भूकम्प जान नसक्ने कसैले ठहर गरेको छैन । तर जोखिमबाट बच्ने उपाय कसैले गरेको छैन । भनिन्छ नि भूकम्प आफैंले मानिसको ज्यान लिँदैन । हो पनि भूकम्पले ज्यान लिँदैन, तर मानिसले नै गल्ती गरेर ज्यान जान्छ । कमजोर संरचना बनाउने र कमजोर स्थानमा संरचना बनाउने गर्दा तिनै संरचनाले थिचिएर भूकम्पका बेला ज्यान जाने गरेको छ । सरकारले जोखिमयुक्त ठाउँहरूको नक्सांकन पनि गरेको छ । तर बस्ती रोक्न सकेको छैन, अथवा भूकम्प प्रतिरोधी संरचनालाई अनिवार्य गर्न सकेको छैन । नागरिक सचेत छैनन्, राज्य निरीह छ, नियमन गर्ने हुती राख्दैन ।
नेपाल सरकार तथा स्थानीय तहहरूले विपद् व्यवस्थापन गर्न बनाएका योजनाहरूको ठेली केवल धमिराको आहारामात्रै भएका छन् । भवन निर्माण मापदण्डको कठोर कार्यान्वयन गर्ने दायित्वमा स्थानीय तह चुकेका छन् । अब पनि सचेत नभए, भविष्यमा हुने विपद्ले अझै गम्भीर क्षति पुर्याउनेछ । देशभित्र ठूल्ठूला भूकम्प पटक–पटक गइरहँदा सरकारले पाठ सिक्न नसक्नु र पूर्वतयारीमा ध्यान नदिनु दुखद् हो । सरकारको गैरजिम्मेवारीपन, घटनाको अतार्किक निष्कर्ष र सही सूचना प्रवाह गर्ने प्रभावकारी वैज्ञानिक संंयन्त्रको अभावका कारण क्षतिका उही प्रकृति बारम्बार दोहोरिँदै जानु राम्रो होइन । यसर्थ भूकम्पबाट हुने क्षतिबाट जोगिन अब पूर्व तयारी गर्न जरुरी छ ।