
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो छ । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ । कुनै देखिने रोग मात्र पूर्ण स्वस्थताको अवस्था होइन । मानसिक स्वास्थ्यका विषयमा धेरै मानिसले खुलेर समस्या नबताउने र ढिलो गरी चिकित्सक तथा स्वास्थ्य संस्थामा पुग्दा समस्या बढ्दै जाने गरेको पाइन्छ । जसका कारण आत्महत्यासम्मको डरलाग्दो बाटो रोज्नेको सूची पनि लामो हुँदै गइरहेको छ । आत्महत्याको तथ्य जति डरलाग्दो छ, त्यसको तुलनामा यसको रोकथामको काम भने खासै हुन सकिरहेको छैन । यस्तो त्रासदीपूर्ण अवस्थाको रोकथाममा घरपरिवार, समाज र राज्यले खासै चासो दिएको देखिन्न । अप्रिय घटना घटेको केही समयसम्म मिडिया, सामाजिक सञ्जालहरुमा धेरथोर हल्ला हुने गरे पनि न्यूनीकरणका लागि ठोस कार्यक्रम बनाउनतर्फ भने कसैको पनि ध्यान नजानु दुखद् हो ।
मानसिक स्वास्थ्य खराब हुनुलाई रोग नै नमान्ने र मानिहाले पनि घर–परिवार, समाजको डरले उपचारमा जान नमान्ने नेपालीको प्रवृत्ति पाइन्छ । उपचार गराउन चाहने सचेत नागरिकले सहज उपचार पाउने स्थानकै समेत अभाव देखिन्छ । नेपालमा हुर्कंदै गरेको या हुर्किइसकेको युवापुस्ता मानसिक स्वास्थ्यको बढ्दो जोखिममा छ । जुन जोखिमसँग कसरी लड्न सकिन्छ भनेर राज्य भने बेखबर बनेर बसेको छ । अब पनि राज्यले मानसिक समस्याको हल गर्न आफ्नो प्रस्ट एकीकृत नीति बनाएर सरोकारवाला सबै पक्षसँग हातेमालो नगर्ने हो भने हाम्रासामु चुनौतीको पहाड खडा हुनेछ । जसले समग्र विकासको मेरुदण्ड मानिने युवा जनसंख्यालाई नै प्रत्यक्ष रूपमा गम्भीर नकारात्मक असर गर्नेछ । स्वस्थ भएर बाँच्न पाउने अधिकारको रक्षा गर्ने दायित्व सरकारको हो । यसर्थ वर्तमान अवस्थामा देखिएको मानसिक स्वास्थ्य समस्या समाधानतर्फ सरकारको ध्यान पुगोस् ।