Shittalpati
फोन गर्न घाम पर्खनुपर्ने

गलकोट । फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ । निकै चिसो मौसम हुने यस क्षेत्रमा बिरलैमात्र घाम लाग्ने भएकाले सञ्चारको पहुँच राम्रोसँग पुग्न सकेको छैन । नेपाल टेलिकमले ढोरपाटनवासीलाई लक्षित गरी थ्रिजी क्षमताको टेलिकम टावर स्थापना गरेपनि पर्याप्त विद्युत् अभावमा टावर सञ्चालनमा समस्या आएपछि स्थानीयवासीले फोन गर्नका लागि समस्या झेल्दै आएका छन् ।

केन्द्रीय प्रसारण लाइन नपुगेको विकट क्षेत्र ढोरपाटनमा सोलारको माध्यमबाट टावर चलाउँदा घाम लागेपछि मात्रै टावर सञ्चालनमा आउने र घाम जानासाथ नेटवर्क जाने गरेको ढोरपाटन नवी गाउँका स्थानीयवासी देवबहादुर विकले जानकारी दिए । “यहाँ विरलैमात्रामा घाम लाग्छ, महिनौँ हिउँले ढाक्छ”, विकले भने, “यस्तो प्रविधिको जमानामा पनि कतिखेर घाम लाग्छ र फोन गरौँला भन्ने अवस्था छ ।”

अत्यावश्यक सूचना आदान–प्रदान गर्न समेत घाम पर्खनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न सरोकारवालासँग माग गरे पनि सुनुवाइ नभएको अर्का स्थानीयवासी चकबहादुर अदैले गुनासो गरे । “रातमा नेटवर्क दिने कुरै भएन, दिनभर हुस्सु लागेमा दिनमा समेत फोन सम्पर्क बिच्छेद हुन्छ”, अदैले भने, “ठूलो क्षमताको सोलार राख्दा समस्या समाधान हुन सक्छ ।” नेटवर्कको समस्या हुँदा पर्यटकीय क्षेत्र ढोरपाटन आउने पर्यटकलाई समेत समस्या पर्दै आएको छ । यस क्षेत्रमा एक हजारभन्दा बढी घरपरिवार बस्दै आएका छन् । अत्यधिक चिसोका कारण अधिकांश घुम्ती बस्ती रहेको यस क्षेत्रमा ढोरपाटन शिकार आरक्ष र आरक्षको सुरक्षाका लागि सेनाको शत्रुमर्दन गुल्म समेत रहेको छ । शिकार आरक्ष तथा गुल्ममा समेत नेटवर्कले समस्या हुने गरेको छ । टावर सञ्चालनका लागि क्षमता अनुसारको सोलार प्यानल जडान गरे पनि घाम नलाग्ने र चिसो ठाउँ भएकाले समस्या भएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । दुई वर्षअघि त्यहाँका जनतालाई लक्षित गरी टावर राखे पनि विद्युत आपूर्ति नहुँदा समस्या भएको शर्माको भनाइ रहेको छ । “हामीले सोलारको क्षमता थप्दासमेत समस्याको समाधान नहुने देखियो”, शर्माले भने, “स्थानीय लघुजलविद्युतले उत्पादन गरेको विद्युतबाट टावर सञ्चालनको तयारी छ, अहिले विद्युतको पोल गाड्ने काम भइरहेको छ ।”  –रासस

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update