
पाल्पा, नेपाल औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सभा भएको हो ।
सभा तथा अधिवेशनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सारुले नीति, विधि र ऐन भित्र रहेर काम गर्न औषधि व्यवसायी र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे । केही स्वास्थ्य संस्थाहरुले नीति, विधि र ऐन अनुसार काम नगरेकाले उनीहरुको नियमन र अनुगमन गर्ने काम प्रदेश सरकारले गरेको उनले बताए । मन्त्री सारुले सरकारी स्वास्थ्य संस्थाहरुको गुणस्तर वृद्धि गर्ने कार्यमा आफ्नो मन्त्रालयले तिव्रताका साथ काम गरेको उल्लेख गरे । केही व्यवसायी र संघसंस्थाहरु शिष्टममा नचल्दा जनतामा आक्रोस पैदा भएको समेत मन्त्री सारुले बताए ।
लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री विरबहादुर रानाले सिंगो मानव जीवनसँग जोडिएको विषय औषधि व्यवसायी भएकाले संवेदनशील भएर व्यवसायी गर्न आग्रह गरे । उनले पछिल्लो समय जीवनशैली र खानापानका कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरुले ग्रस्त बनाउँदै लगेकाले औषधि व्यवसायलाई मर्यादित, भरपर्दो र गुणस्तरीय बनाउनुपर्नेमा आवश्यकता रहेको औल्याए ।
नेपाल औषधि व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले मानिसहरुको आयु बढ्नुमा औषधि व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले पाल्पाको औषधि व्यवसायीको इतिहासलाई कायम राख्न समेत संघलाई आग्रह गरे । संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकराज न्यौपानेले विना दर्ताका औषधि पसलहरुको अपजस दर्ता भएका पसलहरुले भोग्नु परेको उल्लेख गरे । उनले औषधि व्यवसायीहरुलाई तालिमको आवश्यक रहेकाले त्यसको व्यवस्था गरिदिन तीनै तहका सरकारसँग आग्रह गरे । कार्यक्रममा संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुुवेदी, संघका सल्लाहकारहरु नारायणबहादुर कार्की,यम चिदी, रुक्मागत शर्मा, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारख लगायतले साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे । संघका अध्यक्ष विष्णु केसीको अध्यक्षता, निवर्तमान अध्यक्ष रामलाल श्रेष्ठको धन्यवाद ज्ञापन, उपाध्यक्ष समिरमान सिंको स्वागत, महासचिव सूर्य बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।